एनपीएल सुरु हुनुअघि कर्णाली याक्सलाई झट्का, पाकिस्तानी कप्तान फरहान स्वदेश फर्किँदै

नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनुअघि कर्णाली याक्सले अनुबन्ध गरेका पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान प्रतियोगिता नखेल्ने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले राष्ट्रिय टोलीमा समावेश गरिएको भन्दै तत्काल स्वदेश फर्किन इमेल पठाएपछि फरहानले नेपाल छाड्ने भएका हुन्।

श्रीलंकाविरुद्धको सिरिजका लागि राष्ट्रिय टोलीमा परेको जानकारी पाएपछि फरहानले कर्णाली याक्सलाई आफू तत्काल पाकिस्तान फर्किनुपर्ने बताएका थिए। त्यसपछि टोलीले उनको स्वदेश फर्किने टिकटको व्यवस्था गरेको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले जानकारी दिएका छन्।

घिमिरेका अनुसार फरहानले अक्टोबर ३१ मा पुनः फर्किन सक्ने बताए पनि तत्काल राष्ट्रिय टोलीमा उपस्थित हुनुपर्ने भएकाले उनलाई रोक्न नसकिएको हो। सोमबार नै उनी पाकिस्तान फर्किने व्यवस्था गरिएको टोलीले जनाएको छ।

कर्णाली याक्सले एनपीएलका लागि दुई पाकिस्तानी खेलाडी अनुबन्ध गरेको थियो। फरहान स्वदेश फर्किने भएपछि टोलीले अर्का पाकिस्तानी खेलाडी हुसेन तलतलाई भने नेपालमै राख्ने तयारी गरेको छ। पीसीबीले प्रतिखेलाडी २५ हजार अमेरिकी डलर माग गरेको र उक्त रकम आधा–आधा बेहोर्ने सहमति भएको स्रोतले जनाएको छ।

यसअघि दुवै खेलाडीले पीसीबीबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर नेपाल आइसकेका थिए। तर, नेपाल आएपछि बोर्डले थप रकम माग गरेको विवरण सार्वजनिक भएको छ।

प्रतियोगिता सुरु हुनुअघि नै महत्त्वपूर्ण विदेशी खेलाडी गुमाउनुपरेपछि कर्णाली याक्सले अन्य विदेशी खेलाडीको खोजी सुरु गरेको छ। यसले प्रतियोगिताको तयारीमा टोलीलाई थप दबाब परेको छ।

यता, पाकिस्तानी खेलाडीको सहभागिताका विषयमा एनपीएल बोर्डले पनि पीसीबीसँग छलफल गरिरहेको छ। बोर्डबीच सहमति हुन नसके नेपालमा खेल्न अनुबन्ध भएका अन्य पाकिस्तानी खेलाडीको सहभागिता पनि अनिश्चित हुन सक्ने देखिएको छ।

एनपीएलका लागि साहिबजादा फरहान, हैदर अली, हुनैन शाह, हुसेन तलत, इफ्तिखार अहमद, हसन अली र उसामा मिर विभिन्न टोलीमा अनुबन्ध भएका छन्। पीसीबीको पछिल्लो निर्णयले यी खेलाडीहरूको प्रतियोगितामा सहभागिताबारे अन्योल सिर्जना गरेको छ।