नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपालमा एमालेमार्थी चौतर्फी घेराबन्दी रहेको बताएका छन्।
पार्टी कार्यलय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले पार्टीमाथि भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका हुन्। उनले विगत केही वर्ष अगाडीदेखि नै एमालेमाथि घेराबन्दी हुँदै आएको बताए। आगामी निर्वाचनमा पनि एमालेको विरुद्धमा मोर्चाबन्दी हुनसक्ने बताए।

एमालेविरुद्धको २०७७ सालदेखि नै घेराबन्दी शुरु हुन लागेको उनको आरोप छ। २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराएको बताए। २०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उनको भनाइ छ। त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताए।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाए। उनले पार्टीभित्र कै केही नेताका गलत गतिविधिका कारण पनि थप चुनौती उत्पन्न भएको बताए।
उनले भन्, ‘हाम्रो अगाडि निर्वाचन आउँदैछ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामी विरुद्धको घेराबन्दी सिद्धिएको छैन। यो एकदमै चालू छ अहिले पनि। घेराबन्दी चालू छ। २०७७ सालमा सालमा हाम्रो पार्टी कब्जा गरेरै ध्वस्त पार्न खोजियो, म समेत १० जना नेता पार्टीबाट निष्काशन गरियो। हामीले नै एकताका लागि भनेर दिएको बहुमतको दुरुपयोग गर्ने काम भयो। हामीले पुनर्गठन गरेर अगाडि बढ्यौँ। फेरि २०७८ साल भदौ १० गते हाम्रो पार्टी फुटाइयो।

उनले थपे, ‘२०७९ को निर्वाचनमा देश नै हाम्रा विरुद्ध चुनावमा मोर्चाबन्दी। सिंगै देशको हामी विरोधी मोर्चा भयो। सबैका विरुद्ध हामी लड्नुपर्यो। मोर्चा सानोतिनो थिएन, हाम्रा विरुद्धको। फेरि पनि हामी सबभन्दा पपुलर पार्टी भयौँ। त्यसपछि हामी विरुद्धको अभियान अर्को ढङ्गले तीव्र पारियो, सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने, हामीलाई जनताका नजरमा गिराउने, अलोकप्रिय बनाउने, हाम्रो लोकप्रियता घटाउने, यी सब कामहरू भए।’
उनले केही साथीहरू गलत धन्दामा संलग्न रहेको र पार्टीभित्र विरोध नै गरिरहने प्रवृति देखिएको आरोप लगाए। अब त्यस्तो हुन नदिने उनको दृढता छ।

अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाए। नेपालको राष्ट्रिय अस्मितामा आँच पुर्याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उनको दाबी छ।
नेपालको स्वाधीनता र स्वतन्त्रताको पुनःस्थापनाका लागी आन्दोलनमा उत्रिनपर्ने अवस्था समेत आउन सक्ने उनले बताए। आन्दोलनका क्रममा दमन भएमा त्यसको प्रतिवाद गर्ने उनको भनाई छ।
उनले आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्ने बताए। तर नेपालमा आगजनी र लुटपाटलाई आन्दोलन भनेर आन्दोलनकै अपव्याख्या भईरहेको उनको भनाई छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्