जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केवरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा २२५ पोका रगत सङ्कलन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता बढ्दै गएको र अस्पतालमा समेत रगत अभाव हुन थालेपछि मानवीय सेवाको भावनासहित रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
आइतबार आयोजित कार्यक्रममा २९ महिला र १९६ पुरुष गरी २२५ जनाले रक्तदान गरेको मिथिला नगर पत्रकार सञ्जालका अध्यक्ष विजयकुमार साहले जानकारी दिए। आयोजकका अनुसार मधेश प्रदेशमा एउटै रक्तदान कार्यक्रममा यति ठूलो परिमाणमा रगत सङ्कलन भएको यो अहिलेसम्मकै उच्च भएको दाबी गरिएको छ।
रक्तदान कार्यक्रममा स्थानीयवासीसँगै व्यवसायी, युवा तथा विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदाताहरूले आफूले दिएको केही थोपा रगतले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै नियमित रक्तदानका लागि सबैलाई प्रेरित गरेका थिए।
कार्यक्रममा रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो। ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मिथिला लायन्स क्लब, ढल्केवर खानेपानी उपभोक्ता समिति, मिथिला उद्योग वाणिज्य सङ्घ, मिथिला ब्याडमिन्टन क्लब, मिथिला नगर पत्रकार सञ्जाल, मधेस प्रदेश उद्योग परिसङ्घ, मिथिला युवा सञ्जाल, शुभकामना सहकारी संस्था बडहरी र नमूना सहकारी संस्था ढल्केवरलगायतका सङ्घसंस्थाको सहकार्य रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी धनुषा र ब्लड फर नेपालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सङ्कलन गरिएको रगत उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई उपलब्ध गराइने अपेक्षा गरिएको छ।
स्थानीयका अनुसार ढल्केवरमा यसपटक रगत मात्रै सङ्कलन भएन, मानवीय संवेदना, सामाजिक एकता र सहयोगको भावना पनि ठूलो मात्रामा सङ्कलन भयो।





(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्