काठमाडौं । चीनको जाङ्मु पोर्ट प्रशासनले निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको बोकु हिमनदीको जलस्तर बढिरहेको भन्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाली प्रशासन, सुरक्षा निकाय र स्थानीय तहलाई आग्रह गरेको छ।
तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ अधिकारीहरूले पठाएको सन्देशमा बोकु हिमनदीको जलस्तर बढ्दै गएकाले भोटेकोशी नदीमा आकस्मिक बहाव बढ्न सक्ने र बाढीको जोखिम उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ।
तिमल्सिनाले चिनियाँ पक्षको चेतावनीलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै समयमै आवश्यक सावधानी नअपनाए ठूलो क्षति हुन सक्ने बताए।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. १६ हेडक्वाटर सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार चिनियाँ अधिकारीहरूले पठाएको सन्देशमा माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढिरहेको र बोकु नदीको बहाव पनि छिट्टै बढ्न सक्ने उल्लेख गर्दै आवश्यक सुरक्षात्मक उपाय तत्काल अपनाउन आग्रह गरिएको छ।
चेतावनी प्राप्त भएसँगै नेपाली प्रशासन र सुरक्षा निकायले भोटेकोशी नदी तटीय क्षेत्रको निगरानी बढाउनुका साथै स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरेका छन्।
भोटेकोशी नदी चीनको बोकु हिमनदीसँग जोडिएको भएकाले माथिल्लो क्षेत्रमा हुने अत्यधिक वर्षा, हिमतालको जलस्तर वृद्धि वा हिमताल फुट्ने जोखिमका कारण तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउने सम्भावना रहने विज्ञहरूले बताउँदै आएका छन्। यही कारण नेपाल र चीनबीच यस्ता पूर्वसूचना आदानप्रदान गर्ने अभ्यास पनि हुँदै आएको छ।
यसअघि केही दिनअघि चीनको गुआङ्सी क्षेत्रमा आएको भीषण बाढीका कारण ४० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो। त्यस अनुभवलाई ध्यानमा राख्दै माथिल्लो क्षेत्रको जलस्तर बढ्दा नेपालको सीमा क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले सबैलाई आग्रह गरेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्