चितवन।। पूर्वी चितवनको कालिका नगरपालिकामा पालिएका मौरीलाई चिनीको चास्नीबाट १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ । कालिका –६ का जङ्गबहादुर पुनले पालेका१६६ घारमध्ये ती घारमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको हो ।
उनका अनुसार यही असोज १२ गते साँझ ती मौरीलाई चास्नी दिइएको थियो । एक बोरा चिनी चार भाँडोमा राखेर चास्नी दिइएको थियो । उनले भने “पहिलेको जस्तैगरी चास्नी दिएको थिएँ । १३ गते बिहान जाँदा मौरी मरेको देखे ।” अहिले चिनी दिएका मौरी मर्ने, झोक्राउने गर्न थालेको उनले बताए। सातामा एक दिन यतिबेला चास्नी दिने गरेकामा १२ गते दिइएको चास्नी समस्या देखिएको उनले बताए। अघिल्लो दिन चास्नी दिइएकामा भोलिपल्ट मौरीमा सङ्क्रमण फैलिएको उनले जानकारी दिए । पछिल्लो समय विषादीको जोखिम बढ्न थालेको उनले बताए ।
विसं २०७२ देखि मौरीपालन गर्दै आएका पुनका घारमा २०७४ सालमा पनि यस्तै सङ्क्रमण देखिएर २० घार मौरी मरेका थिए । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइले मौरीलाई आहाराका रुपमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको बताए।
किराना व्यवसायीले बाहिरबाट सामान ल्याउँदा चिनीको बोरासँग बेगन, मुसा मार्ने औषधिजस्ता वस्तुसँगै ल्याइएको अनुमान गरिएको उनले बताए । अहिले घारमा सङ्क्रमण देखिने र मौरी बिस्तारै मर्दै जाने गरेको उनले बताए।
चास्नी खुवाउँदा मौरी मरेपछि परीक्षणका लागि व्यावसायिक किट विकास केन्द्रसँगको सहयोगमा नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ । योबाहेक कृषि तथा वन विज्ञान विश्व विद्यालय रामुपरको सहयोगमा चीनमा हुन लागेको सम्मेलनमा यो नमुना पठाएर अध्ययन गर्ने तयारी गरिएको उनले जानकारी दिए। जिल्लामा १९ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आएको छ । व्यावसायिक किसानले असारदेखि असोजसम्म चरन क्षेत्रको अभावका कारण चास्नी खुवाउने गर्दछन् ।रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्