काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। चिया नास्ता र खाजापछि नेताहरू खुलामञ्चमा आएपछि बैठक शुरू भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
प्रवक्ता चालिसेका अनुसार बन्दसत्रमा पेस गरिने प्रतिवेदन केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्दसत्र शुरू गर्ने कार्यक्रम छ। उनले भने, "पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ। त्यही जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेश गर्नुहुन्छ, बैठकले एजेन्डा अनुमोदन गर्छ र सोही आधारमा बन्दसत्र बस्छ।"
बन्दसत्रमा के पेस हुन्छ?
कार्यतालिकाअनुसार बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गरिनेछ। बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ। बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
अन्तिम मतदाता नामावली प्रकाशन
महाधिवेशन निर्वाचन समितिले साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। नामावली प्रकाशनपछि दाबी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्नेछ। प्राप्त दाबी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारी अघि बढाएको छ।
मंगलबार उम्मेदवारी मनोनयन
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता हुनेछ।
उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल तथा भेटघाटलाई तीव्र बनाउँदै आएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्