भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।

संसदीय विशेष समितिको बैठकमा नेपाली सेनाका सहायक रथी सुवास जंग थापाले सुरुङभित्रको अवस्था निकै जोखिमपूर्ण र जटिल रहेको जानकारी दिए। उद्धारका क्रममा ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको उनले बताए।

९.७ किलोमिटर लामो सुरुङमा अत्यधिक हिलो, पानी, साँघुरो बाटो र अक्सिजनको अभावका कारण उद्धारमा कठिनाइ भएको थियो। पावरहाउस क्षेत्रमा कार्यरत ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरबाट उद्धार गरिएको थियो।

सुरुङभित्र थप खोजी जारी रहे पनि केही क्षेत्र पूर्ण रूपमा अवरुद्ध र पानी तथा लेदोले भरिएकाले उद्धार टोली अघि बढ्न सकेको छैन। हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको छ।