पोखरा । भोटेकोशी बाढीबाट अभिभावकविहीन भएका बालबालिकालाई कास्कीका बालगृहहरूले दीर्घकालीन संरक्षण दिने प्रतिबद्धता जनाएका छन्।
कास्कीमा रहेका २५ वटा बालगृहले राज्यले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी जिम्मेवारी दिएमा १ सय ७० जना बालबालिकालाई संरक्षण गर्न सकिने बताएका छन्।
भदौ १० गते आएको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, गोरखा, धादिङलगायत जिल्लामा ठूलो क्षति भएको थियो। बाढीका कारण धेरै बालबालिकाले अभिभावक गुमाएको बताइए पनि त्यसको यकिन तथ्यांक सरकारले सार्वजनिक गरिसकेको छैन।
बालगृहहरूको सञ्जाल कास्कीका संस्थापक अध्यक्ष तथा नमस्ते कम्युनिटी फाउन्डेसनका सञ्चालक भीष्मराज पौडेलले बालगृहहरूको वास्तविक क्षमता अध्ययन गरी संरक्षणका लागि प्रतिबद्धता जनाइएको बताए।
सञ्जालकी अध्यक्ष शोभा पहारीका अनुसार तत्काल १०८ जना बालबालिकालाई संरक्षण गर्न सक्ने प्रतिबद्धता बालगृहहरूले जनाएका छन्। आकस्मिक अवस्थाका लागि थप ६२ जना बालबालिकालाई समेत व्यवस्थापन गर्न सकिने उनले बताइन्।
उनका अनुसार बाढी तथा विपद्का कारण अभिभावकबाट छुट्टिएका बालबालिकाको पहिचान गरी परिवार र आफन्तको खोजी गर्न आवश्यक छ। सम्भव भएसम्म बालबालिकालाई परिवारमै पुनर्मिलन गराउनुपर्ने र परिवारमा पुनःस्थापना सम्भव नभए मात्रै आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालगृहमा दीर्घकालीन संरक्षण दिनुपर्ने उनको भनाइ छ।
कास्कीका बालगृहमा हाल ४४० बालक र ५०४ बालिका गरी ९४४ जना बालबालिका संरक्षणमा रहेका छन्। यसअघि कास्कीबाट मात्रै १ हजार ३ सयभन्दा बढी बालबालिकालाई परिवार तथा समुदायमा पुनःस्थापित गरिएको प्रादेशिक बाल अधिकार समिति सदस्य विजयकुमार प्रधानले जानकारी दिए।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरलगायत जिल्लाका करिब १७ हजार बालबालिका शिक्षाबाट प्रभावित भएको प्रारम्भिक तथ्यांक छ। प्रभावित १५ स्थानीय तहमा १९७ जना बालबालिका अभिभावकविहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाइएको छ।
यसैबीच, बालगृहहरूको सञ्जालले प्रभावित क्षेत्रका बालबालिकाका लागि करिब ६ लाख रुपैयाँ बराबरका राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्