लखनऊ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

बाढीका कारण राज्यका विभिन्न जिल्लामा एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ।

भारी वर्षापछि आएको बाढीका कारण राजधानी लखनऊसहित केही क्षेत्रमा सोमबार विद्यालयसमेत बन्द गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरी प्रभावित मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

स्थानीय प्रशासनले जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै तीव्र गतिमा बगिरहेका नदी, खोला तथा नालाबाट टाढा रहनसमेत चेतावनी दिइएको छ।

लगातारको वर्षाका कारण उत्तर प्रदेशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ भने बाढीबाट भएको क्षतिको विवरण संकलन तथा उद्धार कार्य जारी रहेको छ।