काठमाडौं।। नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि बिनाकारण पटकपटक केरकार र सोधपुछ गरिएको भन्दै आपत्ति जनाएका छन्।
भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा आफ्नो चलचित्र ‘गुन्यो चोलो’ को विशेष प्रदर्शनमा सहभागी भई नेपाल फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले आफूलाई विशेष कक्षमा लगेर अनावश्यक प्रश्न सोधेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।
अभिनेता हुसेनका अनुसार उनीसँगै यात्रा गरिरहेका निर्देशक समुन्द्र भट्ट र जनकदीप पराजुलीलाई सामान्य जाँचपछि जान दिइए पनि उनलाई भने छुट्टै कक्षमा लगेर सोधपुछ गरिएको थियो। सुरक्षाकर्मीले “नेपाल किन गइरहेकोरु” र “कति पैसा छरु” जस्ता प्रश्न सोधेको उनले उल्लेख गरेका छन्।
“मैले अघिल्लो पटक जस्तै यस पटक पनि मलाई किन विशेष सुरक्षा जाँचमा ल्याइयो र यी प्रश्नहरू सोधियो भनेर सोधेँ,” हुसेनले लेखेका छन्, “जवाफमा उनीहरूले ‘कोही बात नही’ (केही कुरा होइन) भने। तर यो मेरो प्रश्नको जवाफ होइन। यदि केही कुरा होइन भने किन यसरी रोकिन्छरु”
आफ्नो पूरा नाम मोहम्मद नाजिर हुसेन भएकाले नाम वा पहिचानका कारण बारम्बार यस्तो सास्ती भोग्नुपरेको हुन सक्ने शङ्का व्यक्त गर्दै उनले भनेका छन्, “यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छु र विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो सरासर गलत हो। यदि होइन भने मैले यसको स्पष्ट कारण थाहा पाउनुपर्छ।”
पासपोर्ट स्क्यान गर्दा व्यक्तिबारे सम्पूर्ण प्रणालीमा जानकारी देखिने हुँदाहुँदै पनि दोस्रो पटक पनि यसरी अनावश्यक केरकार गरिनु दुःखी र गम्भीर विषय भएको उनको भनाइ छ। उनले यस विषयमा कारण पत्ता लगाइदिन आग्रह गर्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय, काठमाडौंस्थित भारतीय दूतावास र चलचित्र विकास बोर्डको ध्यानाकर्षण गराएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्