काठमाडौं।। अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका नगरपालिका–९ का १३ परिवार विस्थापित भएका छन् ।

बडिमालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बिहीबार राति बस्तीमा बाढी पसेको हो। बाढीले बस्ती जोखिममा पारेपछि प्रहरीसहितको टोलीले राति नै प्रभावित परिवारतलाई उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।

प्रहरीका अनुसार उद्धार गरिएकालाई तत्कालका लागि नजिकै रहेका स्थानीयका सुरक्षित घरमा राखिएको छ। बाढीका कारण स्थानान्तरण गरिएका १३ मध्ये तीन वटा घर भने उच्च जोखिममा छन्।

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार बाजुराका सय भन्दा बढी गाउँ बाढी र पहिरोको उच्च जोखिममा छन्।

निरन्तरको वर्षा र पहिरोका कारण बाजुराका दुई स्थानमा सडक अवरुद्ध भएको छ। बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।