भाइटीकाको स्वागतमा सजिँदै रानीपोखरीको बालगोपालेश्वर मन्दिर, रङरोगन र सरसफाइ तीव्र
तिहार नजिकिएसँगै काठमाडौंको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारीलाई तीव्रता दिइएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने मन्दिरलाई अहिले आकर्षक बनाउने काम भइरहेको छ।
भाइटीकाको दिन दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनलाई सहज होस् भन्ने उद्देश्यले मन्दिर परिसरमा रङरोगन, सरसफाइ तथा सजावटको काम अघि बढाइएको हो।
विशेषगरी दाजुभाइ तथा दिदीबहिनी नभएका व्यक्तिहरूले भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर पुगेर पूजा गर्ने र टीका लगाउने परम्परा रहिआएको छ। यही धार्मिक तथा सांस्कृतिक मान्यताका कारण यस मन्दिरको विशेष महत्व रहेको छ।
भाइटीकाका दिन मन्दिरमा दर्शन र टीका लगाउन ठूलो संख्यामा भक्तजन पुग्ने भएकाले उनीहरूको आवागमन र पूजाआजालाई व्यवस्थित बनाउन आवश्यक तयारी भइरहेको छ।
वर्षमा एक दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर भाइटीकाको अवसरमा श्रद्धालुहरूको आस्था र विश्वासको विशेष केन्द्र बन्ने गर्दछ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्