बाँकेमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ जना घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्।

आज बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा कोहलपुरबाट काठमाडौं जाँदै गरेको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ। हाल काठमाडौं बस्दै आएका शाहीलाई उपचारका क्रममा बिहान १०ः०८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ। कार चालक ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन्। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।

यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

दोस्रो कारका चालक करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन। उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका कारण अवरुद्ध भएको राजमार्ग बिहान १०ः१५ बजेबाट पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।