काठमाडौं । त्रिशूली–भोटेकोशी बाढीपीडितको सहयोगार्थ कुमारी बैंक लिमिटेडका कर्मचारीले आफ्नो तलबबाट स्वेच्छिक रूपमा कट्टा गरी ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा सहयोग गरेका छन्।

विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीले उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेका हुन्।

प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले गरिएको यो योगदानले मानवीय संवेदना, सामाजिक एकता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने बैंकको विश्वास छ। कोषमा जम्मा गरिएको रकम राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रममा उपयोग हुने अपेक्षा गरिएको छ। विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको कुमारी बैंकले जनाएको छ।

यसअघि पनि बैंकले त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको थियो।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापनका आवश्यक सामग्री उपलब्ध गराएको थियो।

बैंकका कर्मचारीको पछिल्लो योगदानसमेत जोड्दा त्रिशूली–भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि बैंक र कर्मचारीबाट उल्लेखनीय सहयोग जुटेको छ।