साउदी अरब । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि साउदी अरबमा रहेका नेपाली संस्थाले १७ लाखभन्दा बढी रुपैयाँ सहयोग गरेका छन्।

हेल्प मधेसी साउदी अरबले बाढीपहिरो पीडितका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। संस्थाले विभिन्न व्यक्ति तथा नेपाली समुदायबाट संकलन गरेको उक्त रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

हेल्प मधेसी साउदी अरबका अध्यक्ष श्यामकुमार महतोले विपत्तिको समयमा पीडित नागरिकलाई सहयोग गर्नु विदेशमा रहेका नेपालीको साझा दायित्व भएको बताए।

“नेपालमा विपत्ति आउँदा हामी प्रवासमा बसेर पनि पीडितको दुःखमा साथ दिन चाहन्छौँ। त्यसै उद्देश्यले सहयोग रकम संकलन गरी सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हौँ,” अध्यक्ष महतोले भने।

उनका अनुसार राहतका नाममा संकलन हुने रकमको पारदर्शिता र सही सदुपयोग सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। त्यसैले संस्थाले संकलित रकम आफैँ वितरण नगरी सरकारी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

हेल्प मधेसी साउदी अरबले विपत्तिमा परेका नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनःनिर्माणलाई समेत प्राथमिकता दिन राज्य तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ। संस्थाले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो भूमिका निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

तामाङ घेदुङको ६ लाखभन्दा बढी सहयोग

यता, बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल तामाङ घेदुङ साउदी अरबले ६ लाख ६ हजार ६६६ रुपैयाँ सहयोग गरेको छ।

नेपाल तामाङ घेदुङ साउदी अरबका अध्यक्ष अमृत घिसिङका अनुसार नेपाली समुदाय तथा संस्थाका पदाधिकारीबाट संकलन गरिएको उक्त रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

घेदुङले विपत्तिबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिएको छ।

विदेशमा रहेका नेपाली समुदायबाट प्राप्त यस्तो सहयोगले विपत्तिमा परेका परिवारको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।