अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दार अब्बासस्थित एक सैन्य क्षेत्रलाई लक्षित गर्दै पुनः आक्रमण गरेको छ। तीन दिनभित्र अमेरिकाले इरानमाथि गरेको यो दोस्रो हमला हो, जसले दुवै देशबीच कायम कमजोर युद्धविरामलाई थप तनावपूर्ण बनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गराइरहेका इरानी ‘वान–वे अट्याक ड्रोन’ मध्ये चारवटा ड्रोन खसालिएको छ। सेन्टकमले पाँचौँ ड्रोन प्रक्षेपणको तयारी भइरहेको जानकारी पाएपछि बन्दार अब्बासस्थित सैन्य स्थलमा आक्रमण गरिएको जनाएको छ।

इरानी सञ्चारमाध्यमहरूले उक्त क्षेत्रको पूर्वी भागमा ठूला विस्फोटका आवाज सुनिएको उल्लेख गरेका छन्। घटनापछि बन्दार अब्बास र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।

यो आक्रमण अमेरिका र इरानबीच विगत तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि भइरहेको वार्ताकै बीच भएको हो। द्वन्द्वका कारण विश्वकै महत्त्वपूर्ण जलमार्ग मानिने स्ट्रेट अफ होर्मुजमा ढुवानी प्रभावित भएको छ भने अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यसमेत बढेको छ।

अमेरिकाले आक्रमणलाई आत्मरक्षाका लागि गरिएको कदम भएको दाबी गरेको छ। सेन्टकमले आफ्नो कारबाही ‘रक्षात्मक प्रकृतिको’ रहेको र युद्धविराम कायम राख्नका लागि आवश्यक भएको टिप्पणी गरेको छ।

यसअघि सोमबार पनि अमेरिकाले दक्षिण इरानमा आक्रमण गरेको पुष्टि गरेको थियो। त्यसबेला स्ट्रेट अफ होर्मुज क्षेत्रमा माइन बिछ्याउने प्रयास गरिरहेका इरानी क्षेप्यास्त्र स्थल र डुङ्गालाई निशाना बनाइएको अमेरिकाको दाबी थियो।

इरानले भने अमेरिकी आक्रमणको कडा विरोध गर्दै यसलाई युद्धविरामको गम्भीर उल्लंघन भनेको छ। तेहरानले कुनै पनि शत्रुतापूर्ण गतिविधिको जवाफ दिने चेतावनीसमेत दिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आफ्नो आकाशमा प्रवेश गरेको एउटा अमेरिकी ड्रोन खसालिएको दाबी गरेको छ। साथै एउटा अमेरिकी फाइटर जेट र अर्को ड्रोनमाथि गोलीबारी गरिएको दाबी पनि गरिएको छ, यद्यपि घटनाको समय र स्थानबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान कमजोर अवस्थामा रहेर वार्ता गरिरहेको टिप्पणी गरेका छन्। बुधबार आयोजित क्याबिनेट बैठकमा उनले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनले आफ्नो युद्ध रणनीतिमा कुनै असर नपार्ने बताएका हुन्।

ट्रम्पले इरान आफ्ना सर्तमा सहमत नभए पुनः ठूलो स्तरमा सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन्। उनले भने, “उनीहरू सम्झौता गर्न चाहन्छन्, तर यदि सहमति भएन भने हामीले यो काम पूरा गर्नुपर्ने हुन्छ।”

उता इरानी सरकारी टेलिभिजनले स्ट्रेट अफ होर्मुज पुनः खोल्ने तथा क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्ने विषय समेटिएको एउटा मस्यौदा सम्झौताबारे जानकारी सार्वजनिक गरेको थियो। तर ह्वाइट हाउसले त्यसलाई पूर्ण रूपमा कपोलकल्पित भन्दै अस्वीकार गरेको छ।

गत सातादेखि दुवै पक्षबाट वार्तामा प्रगति भएको संकेत आए पनि तत्काल सम्झौता हुने सम्भावना भने अझै अनिश्चित देखिएको छ।