काठमाडौं: अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक सेवामा प्रवेश गराएको छ। उत्तर कोरियाले यससँगै आफ्नो समुद्री आणविक प्रतिरोध क्षमता थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार पूर्वी बन्दरगाह सहर वोनसनमा आयोजित समारोहबीच ‘काङ कोन’ नामक विध्वंसकलाई नौसेनामा समावेश गर्नुभएको राज्य सञ्चारमाध्यमले जनाएको छ। समारोहमा किमकी किशोरी छोरीसमेत सहभागी भएकी थिइन्। उनलाई दक्षिण कोरियाली जासुसी सेवाले सम्भावित उत्तराधिकारीका रूपमा हेर्दै आएको छ।
समारोहलाई सम्बोधन गर्दै किमले आणविक हतियारसहितका युद्धपोतले उत्तर कोरियाको आणविक प्रतिरोध क्षमतालाई थप विविध र व्यावहारिक बनाउने बताउनुभयो। उहाँले समुद्री रक्षा तथा युद्ध प्रतिरोधका लागि शक्तिशाली र भरपर्दो आणविक क्षमता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
किमले यस्तो सैन्य क्षमताले उत्तर कोरियाका प्रतिद्वन्द्वीमाथि दबाब बढाउने दाबीसमेत गर्नुभयो।
गत जुनमा सेवामा प्रवेश गरेको ‘चो ह्योन’ र नयाँ ‘काङ कोन’ दुवै करिब पाँच हजार टन क्षमताका विध्वंसक हुन्। उत्तर कोरियाका अनुसार यी दुवै युद्धपोत आणविक क्षमता भएका क्षेप्यास्त्रले सुसज्जित छन्।
यसैबीच अमेरिका, दक्षिण कोरिया र जापानले दक्षिण कोरियाको जेजु टापुनजिक पाँचदिने ‘फ्रिडम एज’ संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। दक्षिण कोरियाले उक्त अभ्यास रक्षात्मक प्रकृतिको रहेको र उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतराविरुद्ध तीन देशबीचको संयुक्त प्रतिक्रिया क्षमता बढाउनु यसको उद्देश्य रहेको जनाएको छ।
उत्तर कोरियाले भने उक्त सैन्य अभ्यासको आलोचना गर्दै यसलाई अमेरिकाको शत्रुतापूर्ण नीतिको निरन्तरता भनेको छ।
यसअघि अमेरिका र दक्षिण कोरियाले वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ सैन्य अभ्यास निर्धारित समयभन्दा छ दिनअघि नै समाप्त गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले उक्त अभ्यासलाई ‘पर्याप्त रूपमा घटाउन’ निर्देशन दिएको बताउनुभएको थियो।
तर किमकी बहिनी तथा वरिष्ठ अधिकारी किम यो जोङले सैन्य अभ्यास छोट्याउँदैमा त्यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ परिवर्तन नहुने बताउनुभएको थियो। त्यसपछि उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रसमेत प्रक्षेपण गरेको थियो।
किमले अमेरिकाले आफ्नो ‘शत्रुतापूर्ण नीति’ त्यागेर उत्तर कोरियाको आणविक राष्ट्रको हैसियतलाई सम्मान गरेमा वार्तामा फर्कन सक्ने बताउँदै आउनुभएको छ।
सन् २०१९ मा सीमित आणविक निशस्त्रीकरणका बदलामा आर्थिक लाभ उपलब्ध गराउने विषयमा सहमति हुन नसकेपछि अमेरिका र उत्तर कोरियाबीचको कूटनीतिक प्रक्रिया विफल भएको थियो।
अहिले उत्तर कोरियाको विकसित आणविक कार्यक्रमसँगै रुस र चीनसँगको बढ्दो सम्बन्धले किमलाई भविष्यका वार्तामा तुलनात्मक रूपमा थप बलियो अवस्थामा पुर्याएको विज्ञहरूको विश्लेषण छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्