रौतहटमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका गौतमकुमार सहनी को काठमाडौंस्थित वीर अस्पताल मा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनी हाल आईसीयूमा जलन विशेषज्ञ डा. अपार लामिछानेको नेतृत्वमा उपचाररत छन्।
वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार सहनीको अवस्था चिकित्सकहरूको निरन्तर निगरानीमा रहेको छ।
प्रहरीका अनुसार रौतहटको गरुडा नगरपालिका–९ गम्हरिया निवासी २८ वर्षीय सहनीले मंगलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएका थिए।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्य ले सहनी केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन्।
घटनालगत्तै परिवारका सदस्यले उनलाई गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतम का अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। अस्पतालबाट बिहान करिब ४ बजे घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।
सहनी गरुडा बजारस्थित झाझ पुल नजिक एउटा सानो होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट उनले आफ्नो परिवार तथा तीन छोराको पालनपोषण गर्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
यदि तपाईं वा तपाईंले चिन्ने कोही आत्महत्या वा आत्महानिको सोच, गम्भीर मानसिक तनाव वा डिप्रेसनसँग संघर्ष गरिरहनुभएको छ भने, कृपया परिवार, विश्वासिला व्यक्ति वा मानसिक स्वास्थ्य विशेषज्ञसँग तुरुन्त सहयोग लिनुहोस्। समयमै सहयोग माग्नु अत्यन्त महत्त्वपूर्ण हुन सक्छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्