विश्वभर विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियता तीव्र रूपमा बढिरहेका बेला चार्ज गर्न लाग्ने लामो समय उपभोक्ताका लागि सबैभन्दा ठूलो चुनौती बनेको थियो । यही समस्याको समाधान खोज्दै चिनियाँ विद्युतीय सवारी निर्माता BYD ले ‘फ्लास चार्जिङ’ प्रविधि सार्वजनिक गरेको छ, जसले केही मिनेटमै गाडीलाई सयौँ किलोमिटर गुड्न सक्ने ऊर्जा दिन सक्छ ।
चीनको सेन्जेनस्थित कम्पनी मुख्यालयमा आयोजित कार्यक्रममा बीवाईडीका एसिया प्यासिफिक महाप्रबन्धक Liu Xueliang ले अब ईभी उद्योगको मुख्य समस्या गाडीको रेन्ज नभई चार्जिङ समय भएको बताए । उनका अनुसार नयाँ ‘फ्लास चार्जिङ’ प्रविधि र दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’ले प्रयोगकर्ताको ‘चार्जिङ एन्जाइटी’ हटाउनेछ ।
बीवाईडीले १० मिनेटमै सयौँ किलोमिटर यात्रा गर्न पुग्ने चार्ज क्षमता विकास गरेको दाबी गरेको छ । यसलाई ईभी उद्योगकै ‘गेमचेन्जर’ प्रविधिका रूपमा हेरिएको छ ।
कम्पनीले प्रारम्भिक चरणमा चीनको घरेलु बजारमै यो प्रविधि विस्तार गर्ने योजना बनाएको छ भने आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गरिने जनाएको छ ।
विश्वभर पेट्रोल तथा डिजेल गाडीको विकल्पका रूपमा ईभीको प्रयोग बढ्दै गइरहेका बेला बीवाईडीको यो नयाँ प्रविधिले चार्जिङ समय घटाएर प्रयोगकर्ताको अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्