गोरखामा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा १३ वर्षका एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखाबजारबाट आरुघाटतर्फ जाँदै गरेको ना ६ त ६०५९ नम्बरको ट्याक्टर भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराति करिब १ः३० बजे सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा भीमसेनथापा गाउँपालिका–३ माथिल्लोगाउँका १३ वर्षीय विक्रम बस्याल र ट्याक्टर चालक सिरानचोक–८ जौबारीका राजन परियार घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएकोमा विक्रमको राति ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।