• २ साउन २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

आव २०८०र८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

२ साउन २०८२, बिहिवार

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८०र८१ को भन्दा आव २०८१र८२ मा रु चार अर्ब ५२ करोड २५ लाख बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा रु २० अर्ब ५६ करोड ७८ लाख ५७ हजार राजस्व सङ्कलन भएकामा गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार सङ्कलन भएको हो ।

 कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार गत आर्थिक वर्षमा लक्ष्यको ९४ दशमलव ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा लक्ष्यको ७३ दशमलव ६४ प्रतिशत मात्रै सङ्कलन भएको थियो । आव २०७९र८० मा लक्ष्यको ७७ दशमलव ९४ प्रतिशत राजस्व संकलन भएको उनले जानकारी दिएका थिए ।

कार्यालयले गत आर्थिक वर्षमा सुरुवाती समयदेखि साना तथा ठूला सबै करदाताको विवरण अध्ययन गरी आवश्यक राजस्व सङ्कलनमा जोड दिएको जनाएको छ । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले कर नतिर्ने करदातालाई घरघरमा पत्राचार गरेर करसङ्कलन अभियानलाई तीव्रता दिइएको बताएका थिए । कार्यालयले करदातालाई टेलिफोन गरेर कार्यालयमा बोलाई राजस्व तिर्न प्रोत्साहन गरेको थियो । उद्योग वाणिज्यसँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरेर करशिक्षा कार्यक्रमसमेत आयोजना गरिएको उनको भनाइ छ ।

कर नतिर्ने करदातालाई कालोसूचीमा राख्ने काम गरिएको बताउँदै प्रमुख खड्काले कोभिडपछि कार्यालयले आव २०८१र८२ मा सबैभन्दा बढी राजस्व सङ्कलन भएको जानकारी दिएका थिए । सूचना अधिकारी पौडेलले निरन्तर मिहिनेत गरेकाले राजस्व बढाउन सकिएको बताउँदै लक्ष्यमा पुग्न अझै नसकिएको उल्लेख गरेका थिए । रासस

COMMENT

.