व्यक्तिगत भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली कामदारहरू विभिन्न समस्यामा पर्न थालेपछि नेपाली महावाणिज्यदूतावास दुबईले भिसा प्रमाणीकरण प्रक्रियामा कडाइ गरेको छ।
हालका वर्षहरूमा व्यक्तिगत भिसामा यूएई पुगेपछि काम नपाउने, अलपत्र पर्ने, इमिरेट्स कार्ड र बिमा नबन्ने तथा कम्पनीहरूले जिम्मेवारी नलिने जस्ता गुनासाहरू अत्यधिक बढेपछि महावाणिज्यदूतावासले नयाँ व्यवस्था लागू गरेको जनाएको छ।
महावाणिज्यदूतावासका अनुसार कतिपय कम्पनीहरूको विश्वसनीयता नदेखिएको तथा कामदारलाई बोलाएपछि रोजगारको सुनिश्चितता नभएको पाइएको छ। धेरै कामदार यूएई पुगेपछि अन्यत्र काम खोज्न बाध्य हुने अवस्था सिर्जना भएपछि यस्तो कदम चालिएको हो।
अब पाँच अवस्थामा मात्रै भिसा प्रमाणीकरण
नयाँ व्यवस्था अनुसार अब “व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका २०६९” को अधीनमा रही पाँच विशेष अवस्थामा मात्रै व्यक्तिगत भिसा प्रमाणीकरण गरिनेछ।
पहिलो, श्रमिकले आफू कार्यरत कम्पनीमै जान लागेमा नाता खुल्ने आधिकारिक कागजात पेस गर्नुपर्नेछ। यसमा आमा, बाबु, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, पति र पत्नी मात्र सम्बन्धित नाताभित्र पर्ने उल्लेख गरिएको छ।
दोस्रो, कुनै कामदार यसअघि काम गरेको कम्पनीमै पुनः फर्कन लागेको अवस्थामा पुरानो रोजगारीसँग सम्बन्धित इमिरेट्स कार्ड लगायतका कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
तेस्रो, कुनै व्यक्तिले इन्टरनेट वा अन्य माध्यमबाट आफैँ रोजगारी खोजी गरेर दक्ष काममा जान चाहेमा उसको प्रोफाइल, कम्पनीको विवरण र दक्षता पुष्टि हुने प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
चौथो, यूएईका सरकारी निकाय वा त्यहाँस्थित कूटनीतिक नियोगबाट लिखित अनुरोध आएमा पनि व्यक्तिगत भिसा प्रमाणीकरण गरिनेछ।
पाँचौँ, यूएईमा काम गरिरहेको श्रमिक स्वदेश फर्किनुअघि आफूले त्यहाँ रोजगार गरिसकेको पुष्टि हुने कागजात देखिएमा पनि भिसा प्रमाणीकरण सम्भव हुनेछ।
घरायसी कामदारका लागि छुट्टै सर्त
महावाणिज्यदूतावासले घरायसी वा निजी कामदारका हकमा थप सर्त पनि लागू गरेको छ। यस्ता कामदारको भिसा सन् २०२४ सेप्टेम्बरसम्मको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
वेबसाइटमार्फत विस्तृत जानकारी
महावाणिज्यदूतावासले व्यक्तिगत भिसा प्रमाणीकरणसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया, आवश्यक कागजात र अन्य विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत हेर्न आग्रह गरेको छ।
यस नयाँ व्यवस्थाले यूएईमा व्यक्तिगत भिसामा जाने नेपाली कामदारको सुरक्षा, वैधानिकता र रोजगारी सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्