काठमाडौं,। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका छन् ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरी सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका हुन् ।

सत्तापक्षका सांसदहरुले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउन सक्ने उनले बताए ।

त्यस्तै उनले ढिलो गरी संसद्को अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रित छलफलहरू छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे ।

सरकारको नियत संसद् छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफूहरूले ध्यानाकर्षण गराएको उनले बताए ।

उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने धारणा राखे ।