काठमाडौं।। अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा विश्वकप फुटबल मैदानभित्रको खेलका कारण मात्र होइन, मैदानबाहिरका अनौठा र अपत्यारिला घटनाका कारण पनि निकै चर्चामा छ। गत जुन २५ मा मियामीमा भएको ब्राजिल र स्कटल्याण्डको खेलका क्रममा एलियनहरू आएर नेयमार र भिनिसियस जुनियरलाई उठाएर लैजाने दाबी गर्ने ब्राजिलियन तान्त्रिक अहिले हाँसोको पात्र बनेका छन् ।

तर, अफ्रिकी मुलुक घानाका एक जना रैथाने झाँक्रीले इङ्गल्याण्डका कप्तान ह्यारी केनविरुद्ध गरेको भनिएको ‘कालो जादु’ को चर्चाले भने अहिले फुटबल जगतमा सनसनी मच्चाएको छ । घानाविरुद्धको खेलमा ह्यारी केनले गोल गर्न नसकुन् भनेर नाना क्वाकु बोनसाम नाम गरेका घानाका ती झाँक्रीले केनमाथि तन्त्रमन्त्र गरेका थिए ।

नभन्दै, खेलमा गोलपोस्ट नजिकबाट प्रहार गर्ने सुनौलो मौका पाउँदा पनि केनको प्रहार चुकेको थियो । फलस्वरुप घाना र इङ्गल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । यससँगै ती झाँक्रीले विश्वभर चर्चा पनि कमाए ।

तर, इङ्गल्याण्डका कप्तानलाई यो संकटबाट बचाउन दक्षिण अमेरिकी मुलुक पेरुका झाँक्रीहरूको अर्को समूह अघि सरेको छ । पेरुका झाँक्रीहरूले ह्यारी केनको उद्धार गर्दै केनमाथिको श्राप मोचन गर्ने तन्त्र साधना गरे ।

उनीहरूले पेरुको राष्ट्रिय टेलिभिजनमै प्रत्यक्ष आएर अनेक तन्त्रमन्त्र पढेर केनमाथिको श्राप मोचन गरेका हुन् ।