काठमाडौं,। अमेरिका, मेक्सिको र क्यानाडामा हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्न हिँडेका अखिल नेपाल फुटबल संघ ९एन्फा०का दुईजना पदाधिकारीलाई अध्यागमन विभागले रोकिदिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले वैदेशिक भ्रमणमा जान नदिनु भनेर पठाएको पत्रका आधारमा अध्यागमन विभागको त्रिभुवन विमानस्थलस्थित कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई रोकिदिएको हो ।

‘राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार मन्त्रालयबाटै उनीहरूको भ्रमण रोकिदिनु भनेर हामीकहाँ अनुरोधसहित पत्र आएको थियो’, विभागका प्रवक्ता टीकाराम ढकालले खबरहबलाई भने, ‘हामीले त्यही पत्रका आधारमा उनीहरू दुवैजनालाई वैदेशिक यात्रामा जानबाट रोकिदिएका हौँ ।’

ढकालले राखेपको अनुरोध कार्यान्वयन गर्दै दुवैजनालाई मंगलबार बिहान विमानस्थलबाटै फिर्ता पठाइएको जानकारी दिए ।

‘सरकारी निकायको अनुसन्धान या छानबिनमा रहेका व्यक्तिलाई विदेश यात्रामा जान नदिनु भनेको हकमा त्यही अनुसार निर्णय हुन्छ’, उनले भने, ‘मेक्सिकोतिर उड्न लागेका उनीहरू दुईजनालाई पनि राखेको पत्रका आधारमा रोकेका हौँ।’

ढकालले राखेपको अनुरोधलाई मानिदिएको तर उनीहरूलाई यात्राका लागि कालोसूचीमा भने नराखेको बताएका छन् । ‘अध्यागमन अपराध गरेको हकमा मात्रै कुनै व्यक्तिलाई कालोसूचीमा राखिने हो । ठूला अपराधमा जोडिएको हकमा विभिन्न सरकारी निकायले अनुसन्धान गर्दा कालोसूचीमा राख्ने चलन छ। एन्फाका दुई पदाधिकारीको विदेश यात्रा मात्रै रोकिएको हो, कालोसूचीमा राखेको होइन।’

आर्थिक हिनामिनाको विषयमा छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले उनीहरूलाई निगरानीमा राखेको छ। राखेपले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाउने गरी अध्यागमन विभागलाई पत्र लेखेको थियो ।

विदेश जान रोक लगाउने निर्णय फिर्ता गराउन दुवैजना सोमबार राखेप सचिवालय सातदोबाटो पुगेका थिए। तर राखेपले दुवैलाई विदेश जाने अनुमति दिन मानेको थिएन । राखेपले अस्वीकार गर्दा गर्दै दुवैजना मंगलबार मेक्सिको जान विमानस्थल पुगेका थिए ।