विराटनगरमा पुरानो सकेट बम विस्फोट, ससुरा–बुहारी घाइते

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा पुरानो सकेट बमजस्तो शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार बिहान ११ः३० बजे जमिनमा गाडिएको अवस्थामा रहेको पुरानो सकेट बमजस्तो देखिने वस्तु फोहोर सफा गर्ने क्रममा चलाउँदा अचानक विस्फोट भएको हो।

विस्फोटमा परी विराटनगर–१५ निवासी ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन्। मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार नजवाको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने हैदर अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ।

घटनालगत्तै सीमा प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि स्थानीय जितु मेडिकल पठाएको थियो। घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त वस्तु लामो समयदेखि जमिनमा गाडिएको अवस्थामा रहेको पुरानो सकेट बम हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।