कांग्रेसको विशेष महाधिवेशनको सुरुवाती चरणबाटै कांग्रेस सभापति गगन थापा पक्षमा खुलेका लामा यसअघि पनि सहमहामन्त्री बनेका थिए। हालै भएको कांग्रेसको पन्ध्रौँ महाधिवेशनबाट लामा सहमहामन्त्रीको प्रतिस्पर्धामा ३ हजार २४५ मत प्राप्त गरर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गर्दा तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले लामा निर्वाचित भएको जानकारी दिएका हुन्। प्रतिस्पर्धीमध्ये लामाले दोब्बरभन्दा बढी प्राप्त गरेका हुन्।

वि.सं. २०४२ मा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका लामा २०४५ मा शंकरदेव क्याम्पस एकाइ सदस्य बने। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै २०५१ मा नेविसंघको नुवाकोट क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति र २०५३ मा जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हाले।

यही अवधिमा उनी नेपाल तामाङ घेदुङ संघ नुवाकोटको जिल्ला अध्यक्ष समेत बने। विद्यार्थी राजनीतिबाट संगठन निर्माणमा सक्रिय लामा २०५४ मा मनकामना गाउँ विकास समितिको अध्यक्ष निर्वाचित भए।

त्यसपछि २०५९ मा नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमिति सदस्य बनेर पार्टीको जिल्ला राजनीतिमा सक्रिय भए। उनी २०५९, २०६६ र २०७२ मा कांग्रेस महासमिति सदस्य बनेका थिए। राजनीतिसँगै निर्माण व्यवसायमा समेत सक्रिय लामाले नेपाल निर्माण व्यवसायी महासंघमा विभिन्न जिम्मेवारी सम्हाले।

२०६० मा केन्द्रीय सहकोषाध्यक्ष बनेका उनी २०६३ मा केन्द्रीय कोषाध्यक्ष र २०६५ मा केन्द्रीय उपाध्यक्ष बने। यसैबीच २०६५ मा नेपाल जनजाति संघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हाले। लामाको राजनीतिक यात्रामा २०६४ को संविधानसभा निर्वाचन महत्त्वपूर्ण मोडका रूपमा रह्यो।

उनी नुवाकोट क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बने। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुँदै संविधानसभा सदस्य बने। त्यसपछि २०७२ मा कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए। संघीय राजनीतिमा प्रवेश गरेका लामा २०७४ मा प्रतिनिधिसभा सदस्य बने।

२०७८ मा कांग्रेसको १४औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य निर्वाचित भएका उनी २०७९ मा बागमती प्रदेशसभा सदस्य बने। प्रदेशसभामा पुगेपछि कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका उनले २०८० मा प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा काम गरे।

२०८१ मा उनी बागमती प्रदेशको मुख्यमन्त्री बने। प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएका लामाको मुख्यमन्त्री कार्यकाल भने लामो हुन सकेन। पार्टीभित्रको राजनीतिक समीकरणमा आएको परिवर्तनपछि उनले २०८२ मा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएपछि पनि पार्टी राजनीतिमा सक्रिय रहेका लामा २०८२ को विशेष महाधिवेशनबाट कांग्रेसको सहमहामन्त्री बने। पछिल्लो निर्वाचनमा आदिवासी जनजाति समूहबाट पुनः निर्वाचित भएपछि पार्टीको केन्द्रीय नेतृत्वमा उनको निरन्तरता कायम भएको छ।