नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलअन्तर्गत ‘वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना’ कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।
आयोजनाको विकास तथा सञ्चालनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (SPV) स्थापना गरिएको छ। यससम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरिएको हो।
कम्पनीमार्फत पश्चिम नेपालमा उत्पादित जलविद्युत् ऊर्जाको प्रसारण तथा निकासी सुनिश्चित गर्न करिब १४५ किलोमिटर लम्बाइको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ।
उक्त प्रसारण लाइनले बझाङको चैनपुरस्थित १६० एमभीए ४००/१३२ केभी सबस्टेसन, डोटीको बनलेकस्थित ३१५ एमभीए ४००/१३२ केभी सबस्टेसन तथा कैलालीको दोधारामा निर्माणाधीन सबस्टेसनलाई जोड्नेछ।
यस आयोजनामार्फत पश्चिम नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, भविष्यमा विद्युत् निर्यातका लागि आवश्यक पूर्वाधार विकासमा समेत आयोजना महत्वपूर्ण हुने बताइएको छ।
सरकारले ऊर्जा क्षेत्रको विस्तारसँगै प्रसारण संरचना मजबुत बनाउन यस्ता ठूला आयोजनालाई प्राथमिकतामा राख्दै आएको छ। पश्चिम क्षेत्रमा उत्पादन हुने विद्युत् व्यवस्थापन तथा अन्तरदेशीय व्यापारको सम्भावना बढाउन यो आयोजना महत्वपूर्ण मानिएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्