काठमाडौं।। चीनका प्रधानमन्त्री लि क्वाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र तिब्बत (शिचाङ) पुगेका छन्।नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका हुन्।
बुधबार आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न प्रधानमन्त्री लि घटनास्थल पुगेका हुन्। उनले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहत कार्यबारे जानकारी लिने बताइएको छ।
यसअघि बुधबार नै राजधानी बेइजिङबाट उपप्रधानमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य झाङ गुओछिङ तिब्बतको ग्यिरोङ काउन्टी पुगेका थिए ।
उपप्रधानमन्त्री झाङ विनाशकारी बाढीको क्षति निरीक्षणका लागि केरुङ पुगेका थिए । यसअघि बुधबार बिहानै चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि सबै उपाय अपनाउन निर्देशन दिएका थिए।
यसैबीच, बुधबारको बाढीपहिरोपछि नेपालतर्फ करिब १०० जना चिनियाँ नागरिक अझै बेपत्ता रहेको चीनले जनाएको छ।बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन्।
रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीले नेपालमा ठूलो क्षति गरेको छ। उता सीमापारि चीनको शिगात्सेअन्तर्गत केरुङ (क्योरिङ) क्षेत्रमा व्यापक जनधनको क्षति पुर्याएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै प्राप्त विवरणअनुसार बुधबार बिहान आएको बाढी तथा पहिरोका कारण केरुङ बन्दरगाह क्षेत्रको सडक, विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। हालसम्म केरुङ क्षेत्रमा ३ जनाको मृत्यु भएको र २६५ जना नागरिक सम्पर्कविहीन रहेको पुष्टि भएको छ।
नेपालतर्फ भोटेकोशीको बाढीले रसुवाको टिमुरे र केरुङ नाका आसपासका क्षेत्र ध्वस्त पारेको छ। नेपालमा बाढीका कारण तीन सयको हाराहारीमा मानिसको मृत्यु भएको अनुमान छ भने सुरक्षाकर्मी, स्थानीय र मजदुर गरी दर्जनौँ सम्पर्कविहीन छन्।
बाढी-पहिरोले दुवै देश जोड्ने भौतिक पूर्वाधार, पुल तथा सञ्चार संरचनामा गम्भीर क्षति पुर्याएको छ। प्रवक्ता लिनका अनुसार नेपालस्थित चिनियाँ दूतावासले बेपत्ताको विवरणबारे नेपाली पक्षसँग समन्वय गरी थप प्रमाणीकरण गरिरहेको छ।बाढीपहिरोबाट नेपाल–चीन सीमावर्ती क्षेत्रमा ठूलो क्षति भएको छ भने उद्धार तथा खोजी कार्य जारी रहेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्