वाशिङ्गटन,। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक झट्का दिँदै अमेरिकी सिनेटले मंगलबार इरान युद्ध समाप्त गर्ने प्रस्ताव पहिलो पटक अगाडि बढाएको छ।

यस क्रममा केही प्रमुख रिपब्लिकन सिनेटरहरूले मतदान गरेन् । तर अर्को महत्वपूर्ण रिपब्लिकन समूहले विद्रोह गरेपछि यो वर पावर्स रेजोलुसन ५०–४७ मतले पारित भएको हो।

यद्यपि यो मतदान प्रक्रियागत थियो । यसबाट कानून बन्नका लागि अझै कठिन चुनौती बाँकी छ । तर प्रस्तावको प्रगतिले कंग्रेसमा युद्धप्रति समर्थन घट्दै गएको संकेत दिएको छ।

बढ्दो ग्यासको मूल्य, बढ्दो मुद्रास्फीति र राष्ट्रपति ट्रम्पको घट्दो लोकप्रियता नोभेम्बरको मिडटर्म निर्वाचनको पूर्वसन्ध्यामा रिपब्लिकन सांसदहरूका लागि ठूलो राजनीतिक बोझ बनेको छ।

यसका साथै, यो विधायी विरोधले ह्वाइट हाउस र सिनेटका रिपब्लिकनबीचको तनाव कति चर्किँदै गएको छ भन्ने देखाएको छ। ट्रम्पले केही लामो समयका रिपब्लिकन सिनेटरहरूलाई हटाउने प्रयास गरिरहेका बेला यो घटना बाहिर आएको हो।

लुजियाना रिपब्लिकन सिनेटर बिल क्यासिडीले केही दिनअघि मात्रै प्राइमरी निर्वाचन हारेका थिए । त्यसको पृष्ठभूमिमा मुख्य रूपमा ट्रम्पले उनको विरुद्ध अभियान चलाएका थिए । यो वर पावर्स रेजोलुसन अगाडि बढाउन मत दिए। यसअघि उनले यसको विरोध गरेका थिए।

नर्थ क्यारोलिनाका रिटायरिङ सिनेटर थोम टिलिसले मतदान नै गरेनन्। जसलाई ट्रम्पले बारम्बार आक्रमण गरेका छन् । टेक्सासका सिनेटर जोन कोर्निनले पनि मत दिएनन्। जसलाई ट्रम्पले मंगलबार अचानक समर्थन नगर्ने घोषणा गरेका थिए। अलाबामाका टोमी टुबर्भिलले पनि मतदान गरेनन्।

यसैबीच, अलास्काकी लिसा मुर्कोस्की, मेनकी सुसान कोलिन्स र केन्टकीका र्यान्ड पलले डेमोक्रेटहरूसँग मिलेर मत दिए।

इरान युद्ध रोक्ने अभियान नेतृत्व गरेका डेमोक्रेटिक सिनेटर टिम केनले मतदानअघि भने, ‘ट्रम्प प्रशासन अहिले विदेशमा सैन्य कारबाही गर्नका लागि आवश्यक ६० दिनको कानुनी समयसीमा ‘धेरै अगाडि’ नाघिसकेको छ।’

‘प्रशासनले हामीलाई युद्धको कानुनी आधार देखाउन तयार छैन,’ उनले भने, ‘यो फ्ल्यासिङ रेड लाइट हो।’

ट्रम्पले मे १ मा सांसदहरूलाई लेखेको पत्रमा इरानविरुद्धको शत्रुतापूर्ण कारबाही ‘समाप्त’ भइसकेको दाबी गरेका थिए।

तर मे १३ मा सिनेट सुनुवाइका क्रममा मुर्कोस्कीले पेन्टागन प्रमुख पिट हेगसेथलाई भनेकी थिइन्, ‘राष्ट्रपतिले शत्रुता समाप्त भएको भने पनि हामीसँग अझै १५,००० सैनिक तैनाथ छन्, २० भन्दा बढी युद्धपोतहरू छन् र सक्रिय नौसेना नाकाबन्दी छ। अर्थात्, शत्रुता समाप्त भएको देखिँदैन।’

विपक्षको जित : युद्धको अधिकार संसद्लाई

यो प्रस्ताव डेमोक्रेटहरूका लागि ठूलो सफलता हो। उनीहरू अमेरिकामा युद्ध सुरू गर्ने वा सेना पठाउने अधिकार राष्ट्रपतिमा होइन, संसदमा हुनुपर्छ भन्ने पक्षमा छन् । जुन कुरा अमेरिकी संविधानमा नै उल्लेख रहेको उनीहरूको तर्क छ।

यो प्रस्ताव भर्जिनियाका डेमोक्रेट सिनेटर टिम केनले ल्याएका हुन्। उनले भने,‘जब युद्धविरामको कुरा भइरहेको छ, ट्रम्पले संसदसमक्ष आएर आफ्नो रणनीति स्पष्ट गर्नुपर्छ।’

अमेरिकी कानुनअनुसार राष्ट्रपतिले संसदको अनुमति बिना ६० दिनसम्म मात्र सैन्य कारबाही गर्न पाउँछन्। त्यसपछि युद्ध रोक्नुपर्छ, कांग्रेसबाट अनुमति लिनुपर्छ वा थप ३० दिनको समय माग्नुपर्छ।

यो प्रस्ताव अब सिनेटको अन्तिम मतदानमा जान बाँकी छ। त्यसपछि रिपब्लिकन बहुमत भएको हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित हुनुपर्नेछ। ट्रम्पले भिटो गर्न सक्ने सम्भावना छ, भिटोलाई रोक्न दुवै सदनमा दुईतिहाइ बहुमत चाहिन्छ, जुन हाल निकै कठिन मानिएको छ।