टेकुमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टको परीक्षण सुरु

काठमाडौं महानगरपालिकाले टेकुस्थित फोहोर संकलन केन्द्रमा पुनर्निर्माण गरिएको बायो–मिथेनेसन प्लान्टको परीक्षण सञ्चालन सुरु गरेको छ। कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र जैविक मल उत्पादन गर्ने उद्देश्यसहित परियोजना अघि बढाइएको हो।

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रूपमा प्लान्टको उद्घाटन गरेका हुन्।

प्लान्ट सञ्चालनमा आएपछि महानगरमा उत्पादन हुने कुहिने फोहोरको व्यवस्थापन सहज हुनुका साथै त्यसबाट नवीकरणीय ऊर्जा र जैविक मल उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले देशका ७५३ वटै स्थानीय तहलाई फोहोरबाट ऊर्जा उत्पादन गर्ने यस्ता परियोजना सञ्चालन गर्न आग्रह गरे। स्थानीय तहले पहल गरे मन्त्रालयले पनि आवश्यक समन्वय र साझेदारी गर्न तयार रहेको उनको भनाइ थियो।

उनले ‘एलपीजी मुक्त स्थानीय सरकार’ अभियानलाई सफल बनाउन प्लान्टबाट उत्पादन हुने ग्यासको उपयोग र वितरणसम्बन्धी नीतिगत व्यवस्था स्पष्ट हुनुपर्नेमा जोड दिए। ग्यास वितरणका लागि पाइपलाइन तथा अन्य आवश्यक संरचनाबारे नीतिगत छलफल गर्न सकिने उनले बताए।

त्यस्तै, कार्यवाहक प्रमुख डंगोलले प्लान्टबाट उत्पादन हुने बायोग्यास उपभोक्तासम्म पुर्‍याउने स्पष्ट व्यवस्था आवश्यक रहेको बताइन्। घरघरमा सिलिन्डरमार्फत ग्यास वितरण गर्ने वा पाइपलाइनबाट आपूर्ति गर्ने भन्ने विषयमा तत्काल नीति बनाउनुपर्ने उनको भनाइ थियो।

फोहोरलाई स्रोतका रूपमा उपयोग गर्दै ‘वेस्ट टु इनर्जी’ र ‘वेस्ट टु इकोनोमी’ अवधारणालाई प्रभावकारी बनाउन छुट्टै नीति आवश्यक रहेको पनि उनले उल्लेख गरिन्।

करिब एक दशकअघि निर्माण गरिएको टेकु बायो–मिथेनेसन प्लान्ट सञ्चालनमा आएको केही समयमै बन्द भएको थियो। अहिले काठमाडौं महानगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको समन्वयमा प्लान्टको पुनर्निर्माण तथा परीक्षण सञ्चालन अघि बढाएको हो।

परीक्षण सफल भएमा काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ विकल्प थपिनुका साथै फोहोरबाट ऊर्जा र मल उत्पादन गर्ने योजनालाई विस्तार गर्न बाटो खुल्ने अपेक्षा गरिएको छ।