काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाले मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पन्न गरेको छ । निर्माणस्थलमा हुन सक्ने विपद्को जोखिम घटाउन, जनशक्तिको सुरक्षा गर्न र आपत्कालीन अवस्थामा उद्धार तथा प्रतिकार्य प्रभावकारी बनाउन यो अभ्यास गरिएको हो ।
आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गतको आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम अभ्यास सञ्चालन गरिएको थियो । यसमा प्याकेज–१ (हेडवर्क्स) र प्याकेज–२ (मुख्य सुरुङ, विद्युत्गृहलगायतका संरचना तथा सम्बन्धित उपकरण) मा कार्यरत जनशक्तिलाई लक्षित गरिएको थियो ।
अभ्यासका क्रममा विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी, तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र आपत्कालीन अवस्थामा समन्वय गर्ने विधिबारे व्यावहारिक अभ्यास गराइएको थियो ।
सेनादेखि निर्माण व्यवसायीसम्मको सहभागिता
अभ्यासमा तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल) का प्रबन्ध–सञ्चालक, आयोजना प्रबन्धक तथा अन्य पदाधिकारीको उपस्थिति थियो । नेपाली सेनाको दमौलीस्थित कालिभञ्जन गणका अधिकारी, आयोजना सुपरीवेक्षण परामर्शदाता (पीएससी), वातावरण तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक र निर्माण व्यवसायीका प्रतिनिधि पनि सहभागी थिए ।
‘जनशक्तिको सुरक्षा उच्च प्राथमिकतामा’
आयोजनाका प्रबन्ध–सञ्चालक छविलाल गैह्रेले विपद् व्यवस्थापनमा पूर्वतयारी, समयमै सूचना प्रवाह र प्रभावकारी उद्धार प्रणालीको महत्त्वमा जोड दिए । आयोजनाले निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षा र जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।
यस्ता अभ्यासले विपद्का बेला तत्काल निर्णय लिन, सम्बन्धित निकायबीच समन्वय गर्न र मानवीय क्षति घटाउन सघाउने उनको भनाइ छ ।
गैह्रेका अनुसार आयोजनाको प्रतिबद्धता निर्माणस्थलका जनशक्तिको सुरक्षामा मात्र सीमित छैन । बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सम्भावित बाढी तथा अन्य जोखिमबारे सचेत गराउन र आपत्कालीन अवस्थामा सुरक्षित राख्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।
१७ साइरन र १० स्थानमा होर्डिङ बोर्ड
आयोजनाले बाँधस्थलदेखि तल्लो तटीय क्षेत्र हुँदै सेती र त्रिशूली नदीको दोभानसम्म जोखिमबारे समयमै सूचना दिन १७ वटा साइरन जडान गरेको छ । नदीमा बाढी आएमा सुरक्षित स्थानमा जान र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन १० स्थानमा सूचनामूलक होर्डिङ बोर्ड पनि राखिएको छ ।
आयोजनाले विपद् जोखिम न्यूनीकरणलाई निर्माण व्यवस्थापनको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको जनाएको छ । नियमित नमुना अभ्यास, आपत्कालीन प्रतिकार्यको तयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र तल्लो तटीय समुदायमा जनचेतना अभिवृद्धिमार्फत जनशक्ति तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आयोजना प्रतिबद्ध रहेको जनाइएको छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्