काठमाडौं । राजधानीका तीन सञ्चारगृहको कार्यालय गेटअगाडि शंकास्पद रूपमा बेवारिसे सवारी साधन भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय, अनलाइनखबरको बुद्धनगरस्थित कार्यालय र हिमालयन टेलिभिजनको पुरानो बानेश्वरस्थित कार्यालयको मुख्य गेटअगाडि सवारी साधनहरू पार्किङ गरेर छाडिएको अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार ती सवारी साधनहरू कार्यालयभित्र आवतजावत अवरुद्ध हुने गरी गेटमै छाडिएका थिए। गाडीहरूमा चाबीसमेत नभएको र छाडेर जाने व्यक्तिहरू सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर सवारी साधनहरूको प्राविधिक परीक्षण तथा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रहरीले ती सवारी साधन कसले, कहिले र किन त्यहाँ छाडेको भन्ने विषयमा सीसीटीभी फुटेज, सवारी दर्ता विवरण तथा अन्य प्रमाणका आधारमा अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्