सुनको मूल्यमा भारी गिरावट, अझै सस्तिन्छ कि फेरि बढ्छ ? यस्तो छ आगामी वर्षको प्रक्षेपण
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार ओरालो लागेपछि नेपाली बजारमा पनि यसको असर देखिएको छ। केही महिनाअघिसम्म प्रतिऔंस ५ हजार ५०० डलर नाघेर कीर्तिमान बनाएको सुन अहिले ३ हजार ८०० डलर हाराहारीमा झरेको छ। नेपालमा पनि पाँच कारोबार दिनमै सुन प्रतितोला २१ हजार रुपैयाँले सस्तिएको छ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ७७७.८३ डलरमा झरेको छ। यो सन् २०२५ को अक्टोबरयताकै न्यून मूल्य हो। नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुन त्यसयता ७८ हजार ४०० रुपैयाँले घटिसकेको छ। अमेरिकी डलर बलियो हुनु, ब्याजदर बढ्ने अपेक्षा र लगानीकर्ताले सुन बेचेर नगद जुटाउनुले मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।
तर सुनको दीर्घकालीन माग भने कमजोर भइसकेको छैन। विश्वका केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाइरहेका छन् भने सुनमा आधारित लगानी कोषमा पनि लगानी थपिएको छ। यसले आगामी दिनमा मूल्य पुनः बढ्न सक्ने आधारसमेत देखाएको छ।
गोल्डम्यान स्याक्स, जेपी मोर्गन र युबिएसजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाले सन् २०२७ मा सुनको मूल्य बढ्न सक्ने प्रक्षेपण गरेका छन्। यद्यपि अमेरिकी ब्याजदर र डलरको अवस्था अनुकूल नभएसम्म तत्काल मूल्यमा दबाब कायम रहन सक्ने उनीहरूको आकलन छ।
नेपालमा पनि अन्तर्राष्ट्रिय बजारसँगै डलरको विनिमय दर, आयात कर र स्थानीय मागले सुनको भाउ निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य घट्दैमा समान अनुपातमा नेपाली बजारमा मूल्य घट्ने निश्चित हुँदैन।
समग्रमा अहिले सुनको मूल्य घटिरहेको भए पनि दीर्घकालीन रूपमा यसको माग कायम रहने संकेत देखिन्छ। त्यसैले सुन अझै सस्तिने हो वा पुनः उकालो लाग्ने हो भन्ने कुरा अमेरिकी ब्याजदर, डलरको अवस्था र विश्व अर्थतन्त्रको आगामी दिशामा निर्भर रहनेछ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्