स्रोत नखुलेको ५० लाखभन्दा बढी नेपाली रुपैयाँसहित दुई जना ठमेलबाट पक्राउ

काठमाडौँमा स्रोत नखुलेको ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेलमा बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्। उनीहरूलाई बिहीबार बिहान काठमाडौँ महानगरपालिका–१७ स्थित ठमेलको ‘स्नोलाइन’ होटलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ। त्यस्तै, ओमानी रियाल ४ हजार २१५ र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिरामसमेत फेला परेको प्रहरीले जनाएको छ।

होटलमा अवैध रूपमा रकम लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई रकमसहित पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।