काठमाडौं : सेयर बजार सुधार्ने उद्देश्यले सरकारले ल्याएको २१ बुँदे कार्ययोजनाले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। विभिन्न कारणले निरन्तर दबाबमा रहेको सेयर बजारलाई माथि उठाउने उद्देश्यले सरकारले यो कार्ययोजना ल्याएको हो।

कार्ययोजनाप्रति आम लगानीकर्ताहरूमा उत्साह देखिएपछि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको हो। यसदिन ३४७ वटा स्क्रिप्सका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर ८ अर्ब २९ करोड १७ हजार ११५ रुपैयाँमा खरिदबिक्री भएका छन्।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये २६५ वटाको मूल्य बढ्दा १२ वटाको मूल्य घटेको छ, जबकि १ स्टकको मूल्य स्थिर रहेको छ।

नेप्से परिसूचक उच्च अंकले वृद्धि भएपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा भने कारोबार हुन सकेन। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १४.९६ प्रतिशतले बढ्यो। सिन्धु विकास बैंकको सेयर ११.०३ प्रतिशतले बढ्दा मल्टिप्रपोज फाइनान्स कम्पनीको सेयर ९.७३ प्रतिशत र जानकी फाइनान्सको सेयर ८.०६ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा रिलाइन्स स्पिनिङ्गस शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३२ करोड बराबरको सेयर कारोबार भयो। यसैगरी शिवम् सिमेन्टको ३१ करोड, अपी पावरको २८ करोड, एनआरएन एन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २८ करोड र लिबर्टी इनर्जीको २७ करोड बराबरको कारोबार भएको छ।

यसदिन १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। फाइनान्स, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्सको उपसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।