सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकारमाथि धरपकडबारे संसदीय छानबिन गर्न नेपाल जेनजी फ्रन्टको माग
काठमाडौं । नेपाल जेनजी फ्रन्टले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिइएको घटनाबारे संसदीय छानबिन गर्न माग गरेको छ।
फ्रन्टकी संयोजक रक्षा बमले सोमबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेसमाथि भएको धरपकड र राज्यको हस्तक्षेपबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी हुन्।
समाचारको स्रोत पत्ता लगाउने नाममा समाचार कक्षमै प्रहरी प्रवेश गर्नु अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र र संविधानमाथिको प्रहार भएको फ्रन्टको ठहर छ। यस्तो गतिविधि अभिव्यक्ति स्वतन्त्रताका लागि भएको जेनजी विद्रोहको जनादेशविपरीत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी नेतृत्वले घटनाबारे अनभिज्ञता प्रकट गर्दै जिम्मेवारी अस्वीकार गरेपछि सरकारले नै यसको निष्पक्ष छानबिन गर्न नसक्ने निष्कर्षमा पुगेको फ्रन्टले जनाएको छ। त्यसैले घटनाको जवाफदेहिता सुनिश्चित गर्न नागरिकको प्रतिनिधित्व गर्ने सार्वभौम संसद्ले अग्रसरता लिनुपर्ने उसको माग छ।
नेपाल जेनजी फ्रन्टले प्रमुख राजनीतिक दल तथा संघीय संसद्समक्ष चारबुँदे मागसमेत अघि सारेको छ।
फ्रन्टले सत्ता पक्ष र प्रतिपक्षका दलहरूलाई घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न तथा गृहमन्त्री र प्रहरी नेतृत्वलाई जवाफदेही बनाउन संयुक्त दबाब सिर्जना गर्न आग्रह गरेको छ।
त्यस्तै, प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरूको सहभागितामा संसदीय छानबिन समिति गठन गरी प्रधानमन्त्रीको सचिवालयका कर्मचारी, गृहमन्त्री, प्रहरी महानिरीक्षक तथा जिम्मेवार प्रहरी अधिकारीलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने माग गरिएको छ।
पक्राउको आदेश कसले दिएको हो र त्यसको कानुनी आधार के थियो भन्ने विषय यकिन गरी निर्धारित समयभित्र छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने फ्रन्टको माग छ। साथै, प्रेस स्वतन्त्रता र मानव अधिकार उल्लङ्घनमा संलग्न दोषीमाथि कडा कारबाही गर्न पनि उसले आग्रह गरेको छ।
यसैगरी, संसद्मा गम्भीर छलफल गरी प्रेस स्वतन्त्रताको संरक्षणप्रति स्पष्ट प्रतिबद्धता जनाउन तथा विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज वा संशोधन गर्ने प्रक्रिया अघि बढाउन फ्रन्टले माग गरेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्