काठमाडौं,। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले भ्याक्युम बनाएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको शुन्य समयमा आङ्देम्बेले सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याक्युम बनाएको बताएका हुन् ।

उनले संक्रमणकालीन न्यायका आयोग लगायत केही संवेदनशील संस्थामा समेत पुराना पदाधिकारीलाई बर्खास्त गरिएकाले छिटो सक्षम र निष्पक्ष व्यक्तिहरू ल्याएर सक्रिय पार्न जरुरी रहेको उल्लेख गरे ।

विस्तृत शान्ति सम्झौताको दुई दशक बितिसक्दा पनि द्वन्द्व पीडितहरू न्याय पाउनबाट वञ्चित रहेको उनको भनाइ छ ।

उनले टिआरसी ऐनको संशोधन गरेपनि धेरै कानुनी कमजोरीहरू बाँकी नै रहेकाले नयाँ नियुक्त गर्नुअघि कमजोरीहरू सुधार्न ऐनको चौथो संशोधन आवश्यक रहेको बताए । यसमा वर्तमान सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।