अस्ट्रेलियाको सिड्नीस्थित ‘हाम्रो क्लब’ले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरूको हकहित, अधिकार र सामाजिक एकताका पक्षमा सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।

क्लबको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा वक्ताहरूले अस्ट्रेलियामा रहेका नेपाली समुदाय, मातृभूमि नेपाल र नेपाली जनताको हितमा समर्पित रहने दृढता व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले विदेशमा रहे पनि नेपालीपनलाई जोगाइराख्नुपर्नेमा जोड दिँदै नेपाली समुदायबीच आपसी सहयोग, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए। उनीहरूले ‘हाम्रो क्लब’लाई प्रवासी नेपालीहरूको साझा चौतारीका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

कार्यक्रमका सहजकर्ता दिनेश सापकोटाले मातृभूमिप्रतिको माया विदेशमा आएपछि अझ गहिरो रूपमा महसुस हुने बताउँदै नेपाली समुदायको एकता र सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।

क्लबका अध्यक्ष राजीव अधिकारीले अस्ट्रेलियन सरकारको विश्वास जित्दै अग्रजहरूको सहयोग र मार्गदर्शनलाई समेटेर नेपाली समुदायको हकहित र अधिकारका पक्षमा निरन्तर काम गरिरहेको जानकारी दिए।

कार्यक्रममा सांसद नाथन ह्यागार्टी, काउन्सिलर एलिजा रहमान, पूर्वकाउन्सिलर उषा डोम्माराजु, क्लबका संस्थापक अध्यक्ष अमूल्यप्रताप सिंहलगायत २०० भन्दा बढी नेपाली समुदायको उपस्थिति रहेको थियो।

सो अवसरमा क्लबको नयाँ वेबसाइट पनि औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। साथै विभिन्न खेलकुद प्रतियोगिता, सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम र प्रतिभा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

क्लबले आगामी दिनमा नेपाली समुदायको सामाजिक, सांस्कृतिक र संस्थागत विकासमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।