काठमाडौं,। लामो समयदेखि न्यायका लागि सडक संघर्षमा होमिएका चितवनका सुजन बिकले अन्ततः सिंहदरबार पुगेर गृहमन्त्री सुधन गुरुङलाई आफ्नो पीडा सुनाएका छन् । विगत तीन महिनादेखि काठमाडौंका सडकमा धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका बिकलाई गृहमन्त्री गुरुङले शुक्रबार मन्त्रालयमै बोलाएर भेटेका हुन् ।

आफ्नो काखमा नवजात शिशु च्यापेर न्यायको याचना गर्दै सुजन गृहमन्त्रीको कार्यकक्षमा पुगेका थिए । सो क्रममा उनले अस्पतालको गम्भीर लापरवाहीका कारण आफ्नी श्रीमतीको अकालमा मृत्यु भएको भन्दै आँसु बगाए । सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर्दा श्रीमती गुमाउनुपरेको र नवजात शिशुको भविष्य संकटमा परेको भन्दै उनले सरकारसँग भावुक गुहार मागेका थिए ।

पीडित सुजन र उनको बच्चाको कारुणिक अवस्था देखेपछि गृहमन्त्री गुरुङ निकै भावुक बनेका थिए । परिवारको सम्पूर्ण पीडा र गुनासो ध्यानपूर्वक सुनेपछि गृहमन्त्री गुरुङले तत्कालै आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।“राज्य नागरिकको अभिभावक हो। अस्पतालको लापरवाहीका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद् छ,” गृहमन्त्री गुरुङले भने, “यो घटनाको गहिराइमा पुगेर छानबिन गरिनेछ र दोषीलाई कडा भन्दा कडा कारबाही हुनेछ ।”

गृहमन्त्री गुरुङले मन्त्रालयका अधिकारीहरूलाई तत्कालै एक उच्चस्तरीय छानबिन समिति गठन गर्न र घटनाको सत्यतथ्य विवरण यथाशीघ्र बाहिर ल्याउन कडा निर्देशन दिएका छन् । छानबिनको प्रतिवेदनका आधारमा दोषी देखिएका जोकोहीलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।