नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले साना तथा मझौला उद्यमीहरूको प्रवर्द्धन र विकासबिनै मुलुकमा आर्थिक क्रान्ति सम्भव नहुने बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले आर्थिक समृद्धिको आधार साना तथा घरेलु उद्योग नै भएको उल्लेख गर्दै यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए।
वरिष्ठ उपाध्यक्ष वैद्यले देशभरका साना तथा घरेलु उद्योगीहरूले गरिरहेको योगदानको प्रशंसा गर्दै सरकारले उनीहरूका समस्या र आवश्यकतालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे। उनले नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा वस्तुगत संघ, जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले हाल सञ्चालनमा रहेका सरकारी तालिम तथा सीपमूलक कार्यक्रमहरू अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै स्थानीय सरकारको अगुवाइमा सञ्चालन हुने आर्थिक तथा सीपमूलक कार्यक्रमहरू निजी क्षेत्रका छाता संगठनहरूसँगको सहकार्यमा कार्यान्वयन गर्नुपर्ने प्रस्ताव राखे।
वैद्यका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघबीचको समन्वयमा जिल्लास्तरमा तालिम सञ्चालन गर्न सकिए वास्तविक उद्यमीहरूले अवसर प्राप्त गर्नेछन् र तालिमपश्चात रोजगारी सिर्जनामा समेत सहयोग पुग्नेछ। उनले दुवै संस्थाबीच साझा समिति गठन गरेर सरकारसँग प्रभावकारी समन्वय गर्ने योजना रहेको जानकारी दिए।
उनले नेपालमा ठूला उद्योगभन्दा पनि साना तथा मझौला उद्यमहरूको विकास र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै यही क्षेत्रबाट औद्योगिक तथा आर्थिक क्रान्तिको आधार तयार हुने बताए।
सोही कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले निजी क्षेत्र बलियो भए मात्र सरकारी हस्तक्षेप र दबाबलाई प्रभावकारी रूपमा सामना गर्न सकिने बताए। उनले निजी क्षेत्रका संस्थाहरूबीचको एकता, सहकार्य र आपसी सद्भावले उद्योग–व्यवसायको वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरे।
अध्यक्ष सिंहले नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सबीचको कार्यगत एकता आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्