गुल्मी।। पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ ।
गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । जिल्लाको सत्यवती गाउँपालिका‐४, खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
सडकमा ठूलो ढुङ्गा खसेका कारण स्काभेटर र ब्रेकरको सहायताले मात्र चट्टान फुटाउनुपर्ने अवस्था रहेकाले तत्काल सडक सुचारु गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय गाउँपालिकाले निरन्तर प्रयास गरिरहेका छन् । सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले आज बिहानदेखिनै उक्त स्थानमा स्काभेटर र जेसिभी परिचालन गरिएको बताए।
उनका अनुसार ठूलो चट्टान भएकाले ब्रेकरको सहायताले चट्टान फोड्ने काम भइरहेको छ । चाडपर्वको समयमा मुख्य सडक नै अवरुद्ध बनेपछि उक्त सडकखण्ड भएर आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
गुल्मीको रुद्रबेणी हुँदै बागलुङको बुर्तिवाङदेखि पूर्वी रुकुम आवजतावत गर्ने उक्त सडक यस क्षेत्रको अत्यन्तै व्यस्त सडकखण्डअन्तर्गत पर्दछ ।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्