रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेका नेपाली तथा विदेशी नागरिकको उद्धारका लागि चीनले सुरुङ उद्धार विशेषज्ञसहितको हेलिकोप्टर नेपाल पठाएको छ।

चीनबाट जनमुक्ति सेनाका चार जना सुरुङ उद्धार विशेषज्ञ लिएर आएको हेलिकोप्टर शनिबार नेपाल आइपुगेको हो। उक्त हेलिकोप्टर केरुङ नाकाबाट सीधै सम्बन्धित जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रमा अवतरण गरेको बताइएको छ।

बुधबार बिहान आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा नेपाली र विदेशी इन्जिनियर, प्राविधिक तथा कामदार फसेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकाय परिचालन भइरहेका बेला चिनियाँ विशेषज्ञ टोली पनि उद्धार अभियानमा सहभागी हुने भएको हो।

चिनियाँ टोलीसँग सुरुङभित्र फसेका व्यक्तिको खोजी, उद्धार तथा जटिल भूमिगत संरचनामा उद्धार सञ्चालन गर्ने प्राविधिक विशेषज्ञता रहेको बताइएको छ। उनीहरूले नेपाली उद्धार टोलीसँग समन्वय गरी प्रभावित आयोजनामा उद्धार कार्य अघि बढाउनेछन्।

यसअघि चीनले रसुवाको बाढीबाट प्रभावित नेपाललाई २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ। साथै, पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत अत्यावश्यक आपतकालीन राहत सामग्री नेपाल पठाउने तयारी गरेको छ।

चीनले राहत सामग्रीसँगै सुरुङ उद्धार तथा प्राविधिक कार्यमा विशेषज्ञता भएका दुईवटा टोली नेपाल पठाउने जनाएको थियो। बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ र भूमिगत संरचनामा फसेकाहरूको खोज तथा उद्धारमा ती टोली परिचालन हुने अपेक्षा गरिएको थियो।

भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै जलविद्युत् आयोजना, बस्ती, सडक तथा अन्य भौतिक पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ। बाढीपछि बेपत्ता तथा सुरुङमा फसेकाहरूको खोजी र उद्धारलाई तीव्र पारिएको छ।

चिनियाँ सुरुङ उद्धार विशेषज्ञको आगमनसँगै जटिल अवस्थामा रहेका भूमिगत संरचनामा उद्धार अभियान थप प्राविधिक र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसअघि बाढीमा फसेकाहरूको उद्धारका लागि भारतीय सेनासहित २६ जनाको टोली स्याफ्रुबेँसीतर्फ गइसकेको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर एनए–०३८ मार्फत भारतीय सेनाका ८ जना, सिग्नलतर्फका ८ जना, नेपाली सेनाका २ जना, १ जना दोभाषे, बेलिब्रिज टोलीका ४ जना र ३ जना क्रु मेम्बरसहित कुल २६ जनाको टोली उद्धार कार्यका लागि परिचालन भएको हो।