त्रिशूली (नुवाकोट) । भोटेकोशी बाढीपछि टुटेको रसुवा जिल्लाको सडक सम्पर्क आइतबार पुनः स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसँगै रसुवा यातायातमार्फत अन्य जिल्लासँग जोडिएको हो ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा पुगेको बाढीले विदुर नगरपालिका–१० र उत्तरगया गाउँपालिका–५ बेत्रावती जोड्ने दुई पक्की पुल बगाएको थियो । त्यसपछि रसुवा र नुवाकोटबीचको सम्पर्क टुटेको थियो ।
पाँच दिनमा तयार भयो पुल
नेपाली सेनाका उपरथी अनुपजङ्ग थापाका अनुसार बेत्रावतीस्थित फलाखु खोलाको पुल सेनाले पाँच दिनमा तयार गरेको हो । पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवा आसपासका नागरिकलाई आवतजावत गर्न तथा बाढी प्रभावित क्षेत्रमा राहत र अत्यावश्यक सामग्री ढुवानी गर्न सहज हुने उनले बताए ।
“बाढीले सडकको पहुँच मार्ग बगाएसँगै बेत्रावतीसम्म पुग्नका लागि पहुँच मार्गसमेत थिएन,” उपरथी थापाले भने, “सडक विभागसँगको समन्वयमा करिब ३०० मिटर दूरीको आगिङ्टार–बेत्रावतीको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरेर बेत्रावतीसम्मको सडक सञ्जाल र फलाखु खोलामा बेलिब्रिज जडान गरेर रसुवालाई बाहिरी जिल्लासँग जोडिएको हो ।”
उनले पुल निर्माणसम्बन्धी प्राविधिक जानकारीसहितको प्रतिवेदन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझालाई हस्तान्तरण गरे ।
४० टन भार क्षमताको पुल
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार बेलिब्रिज ४० टन भार बहन क्षमताको छ । यसको लम्बाइ ७३.२ मिटर र चौडाइ ५.५ मिटर छ ।
धुन्चे र स्याफ्रुबेँसी पुग्न सहज
अब नुवाकोटको विदुरबाट सिधै बेत्रावती पुगेर पुल तरी पासाङल्हामु सडक हुँदै रसुवाको धुन्चे र स्याफ्रुबेँसीस्थित त्रिशूली वारिसम्म सवारीसाधनमा पुग्न सकिन्छ । यससँगै रसुवाको बाढी प्रभावित क्षेत्रमा खाद्यान्नसहित अत्यावश्यक सामग्री लैजान सहज भएको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक सञ्चालन गर्ने काममा पनि यो पुलले सघाउनेछ ।
सेनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत र अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।
तादी खोलामा पनि बेलिब्रिज
यसअघि सेनाले भोटेकोशी बाढीले क्षति पुर्याएको देवीघाटस्थित तादी खोलामा बेलिब्रिज जडान गरी नुवाकोट र धादिङलाई सिधा यातायात सम्पर्कमा जोडेको थियो । बाढीले क्षति पुर्याएका बाँकी स्थानका पुल र सडक सञ्चालन गराउन पनि सेनाले सहजीकरण गरिरहेको जनाइएको छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्