मोरङ — वैदेशिक रोजगारीको नाममा आकर्षक कमाइको प्रलोभन देखाउँदै रोमानिया पठाइदिने भन्दै सर्वसाधारणसँग लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा मोरङबाट एक म्यानपावर सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–८ निवासी ३७ वर्षीय उद्धव पाठक रहेका छन्। उनी दाम्राभिट्टास्थित ‘केएसए’ नामक म्यानपावर सञ्चालन गर्दै आएका थिए। वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइदिने आश्वासन दिँदै उनले लामो समयदेखि विभिन्न व्यक्तिबाट ठूलो रकम असुलेको आरोप लागेको छ।

प्रहरीले सोमबार साँझ पाठकलाई पक्राउ गरेको हो। उनीसँगै म्यानपावरमा लेखापालका रूपमा कार्यरत रतुवामाई–९ का करिब २५ वर्षीय अभि भण्डारीलाई पनि नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

पक्राउ परेका पाठक र भण्डारीविरुद्ध ठगी मुद्दामा अनुसन्धान सुरु गरिएको छ। अदालतबाट ६ दिनको म्याद थप गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। हाल दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार पाठक लामो समयदेखि फरार सूचीमा रहेका थिए। उनीविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा, उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा काठमाडौंमा समेत किटानी जाहेरी परेको खुलेको छ। प्रारम्भिक अनुसन्धानबाट उनले विदेशमा बसेर समेत आफ्नो नेटवर्क सञ्चालन गरिरहेको देखिएको प्रहरीले जनाएको छ। केही समयअघि मात्रै रोमानियाबाट नेपाल फर्किएका उनी पछिल्लो एक सातादेखि रतुवामाईस्थित घरमा बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ परेका थिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार पाठकले वैदेशिक रोजगारीमा जान इच्छुक युवाहरूलाई आकर्षक तलब, सुरक्षित रोजगारी र छिटो प्रक्रिया पूरा हुने आश्वासन दिँदै रकम असुल्ने गरेका थिए। उनले पीडितहरूबाट चरणबद्ध रूपमा रकम संकलन गरे पनि विदेश पठाउने प्रक्रिया भने अघि नबढाएको आरोप छ।

प्रहरीले हालसम्म सय जनाभन्दा बढी व्यक्ति ठगीको सिकार भएको अनुमान गरेको छ। एक व्यक्तिबाट एक लाखदेखि चार लाख रुपैयाँसम्म असुलेको पाइएको एसपी कटवालले बताए। ठगीको वास्तविक रकम र पीडितको संख्या अझै यकिन भइनसकेको उनले जानकारी दिए।

पीडितहरूले दिएको जाहेरीअनुसार पाठकले तीनदेखि चार वर्षअघि नै रकम लिए पनि अहिलेसम्म कसैलाई रोजगारीका लागि विदेश नपठाएको देखिएको छ। उनीविरुद्ध नारायणप्रसाद भट्टराई, पदमबहादुर खुलाल र पुनम नेपाललगायतले किटानी जाहेरी दिएका छन्।

अनुसन्धानका क्रममा ठगीको रकम म्यानपावरका लेखापाल अभि भण्डारीको बैंक खातामा जम्मा गराउने गरिएको तथ्य पनि खुलेको छ। वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई विभिन्न बहानामा भण्डारीको खातामा पैसा पठाउन लगाइने र त्यसपछि प्रक्रिया अघि नबढाइने गरेको आरोप छ।

प्रहरी स्रोतका अनुसार रकम संकलनपछि न त भिसा प्रक्रिया पूरा हुन्थ्यो, न विदेश पठाउने कुनै ठोस प्रयास नै गरिन्थ्यो। वर्षौंसम्म विदेश जाने आशामा बसेका पीडितहरू अन्ततः ठगी भएको महसुस गरेपछि प्रहरीमा उजुरी दिन बाध्य भएका थिए।

प्रहरीले पीडितको यकिन संख्या तथा कुल ठगी रकमको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ। अनुसन्धान पूरा भएपछि घटनाको वास्तविक स्वरूप सार्वजनिक हुने र ठगीको दायरा अझै ठूलो हुन सक्ने प्रहरीको अनुमान छ।