काठमाडौं।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । आयोगले आइतबार बिहान एक सूचना जारी गर्दै प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
प्रकाशित नामावलीमा कुनै नाम छुटेको, विवरण सच्याउनु पर्ने वा दाबी-विरोध गर्नुपर्ने भएमा चितवनस्थित औद्योगिक प्रदर्शनी स्थलमा रहेको महाधिवेशन सचिवालयमा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ । यस्तै, नामावलीमा नाम भएर पनि पार्टी सदस्यता नम्बर उल्लेख नभएका, लेभी भुक्तानी नगरेका वा पार्टी पोर्टलमा अभिलेख नरहेका प्रतिनिधिलाई आवश्यक प्रमाणसहित आयोगको सचिवालयमा सम्पर्क गर्न भनिएको छ ।
आयोगका अनुसार नामावली सम्बन्धी दाबी(विरोध तथा विवरण सच्याउने अन्तिम समय असार ८ गते बिहान १०|:०० बजेसम्मका लागि तोकिएको छ । उक्त समयसीमा भित्र सम्पर्क नगर्ने प्रतिनिधिहरूको नाम अन्तिम नामावलीबाट हटाइने आयोगले चेतावनी दिएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी घोषणा सम्बन्धी कडा नियम समेत सार्वजनिक गरेको छ । जसअनुसार यसअघि पार्टीका वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशनको कुनै पनि पदमा उम्मेदवार भई पराजित भएका पार्टी सदस्यले राष्ट्रिय महाधिवेशन अन्तर्गत कुनै पनि पदमा उम्मेदवार बन्न पाउने छैनन् । यस विपरीत उम्मेदवारी दिएको पाइएमा त्यस्तो उम्मेदवारी स्वतः रद्द हुने प्रमुख निर्वाचन आयुक्त भुवन केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्