काठमाडौं।। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार शितल निवासमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धतालाई किमार्थ विचलित दिनु नहुने स्पष्ट पारे ।

यही एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावधारा जागृत गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन उनले आह्वान पनि गरे ।

उनले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेको धारणा राखे । उनले राष्ट्रिय विभूति भीमसेन थापा एक इमानदार र कुशल प्रशासक भएको बताउँदै आफ्नो शासनकालमा सामाजिक, आर्थिक, कानुनी र सेनाको आधुनिकीकरणलगायत क्षेत्रमा गरेको सुधारका कार्य प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा सीमाविद् बुद्धि नारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।