काठमाडौं। नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै पूर्व–योग्य सुरक्षामूलक मिन्टिङ कम्पनीहरूबाट सिक्काको डिजाइन, टकमारी, आपूर्ति तथा डेलिभरीका लागि सिलबन्दी बोलपत्र माग गरेको हो।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाबाट सिक्का उत्पादनका लागि बोलपत्र आह्वान गरेको जनाएको छ।
बोलपत्र कागजात खरिद
पूर्व–योग्य बोलपत्रदाताले थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार विभागबाट बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। कागजात खरिदका लागि २० हजार रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो गैरफिर्ता हुने दस्तुर तोकिएको छ। कागजात कात्तिक १७ गतेसम्म खरिद गर्न सकिनेछ।
पूर्व–बोलपत्र बैठक
बोलपत्र प्रक्रियाबारे जानकारी तथा आवश्यक विषयमा छलफल गर्न राष्ट्र बैंकले असोज ३० गते दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्व–बोलपत्र बैठक आयोजना गर्ने भएको छ।
बोलपत्र पेस र खोल्ने समय
बोलपत्रदाताले प्राविधिक र मूल्य प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखी कात्तिक १८ गते दिउँसो १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ। बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ।
धरौटी
बोलपत्र पेस गर्दा न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ वा अन्य मुद्राको धरौटी राख्नुपर्नेछ। उक्त धरौटीको म्याद १५० दिन अर्थात् आगामी चैत २० सम्म कायम हुनुपर्नेछ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्