राष्ट्र बैंकद्वारा एक वर्षमै साढे ७ खर्बभन्दा बढीका पुराना नोट नष्ट, नयाँ नोटको मौज्दात पनि बढ्यो
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना तथा चलनचल्तीमा प्रयोग गर्न नमिल्ने बैंक नोट नष्ट गरेको छ। झुत्रा, मैला, च्यातिएका तथा गुणस्तरका हिसाबले प्रयोग गर्न अयोग्य ठहरिएका विभिन्न दरका नोट केन्द्रीय बैंकले धुल्याएर ब्रिकेट बनाएको हो।
राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले जम्मा गर्न वा सट्टाभर्ना लिन ल्याएका त्यस्ता नोट नष्ट गरिएको हो। चलनचल्तीमा प्रयोग गर्न नमिल्ने नोटलाई व्यवस्थापन गर्दै बैंक नोटको गुणस्तर कायम राख्ने उद्देश्यले यस्तो प्रक्रिया अपनाइएको बैंकले जनाएको छ।
यसैबीच, मुलुकमा चलनचल्तीमा रहेको नोटको परिमाण पनि बढेको छ। २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकामा २०८३ असार मसान्तसम्म आइपुग्दा ६.०८ प्रतिशतले वृद्धि भई ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
केन्द्रीय बैंकले बैंक नोटको सुरक्षण विशेषता र प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्दै नोटलाई थप सुरक्षित र गुणस्तरीय बनाउने कामसमेत अघि बढाएको छ। बैंक नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोटको आपूर्तितर्फ गत आर्थिक वर्षमा ५ रुपैयाँ दरका ३५ करोड थान बैंक नोट करारअनुसार प्राप्त भई केन्द्रीय बैंकको ढुकुटीमा राखिएका छन्। त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थानमध्ये पहिलो र दोस्रो लटअन्तर्गत २३ करोड थान नोट आपूर्ति भएका छन्।
यसैगरी, १०० रुपैयाँ दरका ३० करोड थान नोटमध्ये २१ करोड थान तथा ५०० रुपैयाँ दरका २३ करोड थान नोटमध्ये पहिलो लटमा १२ करोड थान नोट आपूर्ति भइसकेका छन्।
त्यसैगरी, ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको ढुकुटीमा रहेको नयाँ नोटको मौज्दातसमेत उल्लेख्य बढेको छ। २०८३ असार मसान्तसम्म विभिन्न दरका गरी ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ मात्रै थियो। यसले केन्द्रीय बैंकसँग रहेको नयाँ नोटको मौज्दातमा उल्लेख्य वृद्धि भएको देखाउँछ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्