बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्ने राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका हजारौँ नागरिक अझै पनि डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। वर्षायाममा नदीमा बाढी आउने हुँदा जोखिम बढे पनि स्थानीयसँग वैकल्पिक व्यवस्था छैन।

नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय अगुवा सोहनलाल यादवका अनुसार डुडुवा गाउँपालिकाको होलिया र नरैनापुरको गङ्गापुर जोड्ने पुल नबन्दा राप्तीपारिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दाले दैनिक रूपमा डुङ्गाबाट आवतजावत गर्दै आएका छन्। खेतबारीको काम, आफन्त भेटघाट तथा हाटबजारका लागि उनीहरू नदी वारपार गर्न बाध्य छन्।

राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडिया नयाँबस्तीका शङ्कर यादवले पक्की पुल प्रयोग गर्न सिधनियाघाट पुग्न निकै टाढा पर्ने भएकाले डुङ्गा चढ्नु बाध्यता भएको बताए। खेतीपातीका अधिकांश जमिन नदी वारि र पारि रहेकाले धानको बीउ राप्नेसहित कृषि कार्यका लागि पनि डुङ्गाबाटै नदी पार गर्नुपर्ने अवस्था रहेको उनले बताए।

डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटइपूर्वा, टेपरी, पिप्रहवा, खडैचा, कन्दइपूर्वा, सन्तलिया र नयाँबस्तीका सयौँ बासिन्दाका लागि डुङ्गा दैनिक जीवनको अभिन्न माध्यम बनेको स्थानीय अगुवा झगरु लोनियाले बताए। उनका अनुसार हिउँदमा यात्रा सहज भए पनि वर्षायाममा नदीमा बाढी आउने भएकाले जोखिम निकै बढ्ने गरेको छ।

खल्ला झगडिया नजिकै नदी तर्नका लागि डुङ्गा सधैँ तयारी अवस्थामा राखिएको हुन्छ। डुङ्गाचालक नानबाबु पासीका अनुसार नदी तारेबापत प्रतिव्यक्ति १० रुपैयाँ, गाईभैँसीका लागि २० रुपैयाँ, साइकलका लागि १५ रुपैयाँ र मोटरसाइकलका लागि ६० रुपैयाँ शुल्क लिने गरिएको छ। एकपटकमा ५० देखि ६० जनासम्म यात्रु तथा मालसामान नदी पार गराउन सकिने उनले बताए।

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा किनमेल गर्न नेपाली गाउँका सयौँ नागरिक डुङ्गा तरेर पुग्ने गरेका छन्। भारतीय बजारमा तरकारी तथा अन्य उपभोग्य वस्तु तुलनात्मक रूपमा सस्तो पाइने भएकाले धेरै स्थानीय त्यहाँ किनमेलका लागि जाने गरेको डुङ्गाचालक पासीले बताए।

तटीय क्षेत्रका नागरिकले राप्ती नदीको डुबान, कटान तथा जोखिमपूर्ण यात्राको दीर्घकालीन समाधानका लागि मटेहिया र होलियालाई जोड्ने पक्की पुल निर्माणको माग गर्दै आएका छन्। बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले उक्त पुल निर्माण योजनालाई कार्यान्वयनमा ल्याउन आवश्यक पहल भइरहेको बताएका छन्।